असार २५, डोटी ।
डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिकाले छाउ अर्थात महिनावारी नबार्ने महिलाहरुलाई सम्मान गरेको छ । सामाजिक कु–संस्कारको रुपमा रहेको छाउपडी प्रथा नमान्ने महिलाहरुलाई गाउँपालिकाले विहिबार एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
अहिले छाउपडी विरुद्धको अभियानको सुरुमा ७ वटै वडाबाट २÷२ का दरले १४ जना छाउ नबार्ने महिलाहरुलाई सम्मान गरिएको हो । आगामी दिनमा छाउपडी प्रथा न्यूनीकरणमा छाउगोठ भत्काउने, विभिन्न जनचेतनाका कार्यक्रम गर्ने लगायतको अभियान पनि सुरु गरिने गाउँपालिका अध्यक्ष दिर्घ राज बोगटीले कताउनुभयो । सामाजिक कलङ्कका रुपमा रहेको छाउपडी प्रथाका कारण महिला दिदिबहिनीहरुको शारीरिक, मानसिक, सामाजिक लगाएतका सबै पक्षमा नकारात्मक असर पर्ने हुँदा यस्ता गलत अभ्यास चिरेर समाजमा उदाहरणीय बन्दा राज्यले सम्मान गर्ने रैछ भन्ने सन्देश दिन छाउ नबार्ने महिलाहरुलाई सम्मान गरेको अध्यक्ष बोगटिले बताउनुभयो । सुदूरपश्चिमका डोटी, बाजुरा, अछाम, बझाङ, लगायतका जिल्लामा रहेका महिलाले महिनावारी र सुत्केरी भएका बेला कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम रहेको अवस्थामा पुर्वी चोकी गाउँपालिकाको यो अभियानले समाजमा सकरात्मक सन्देश जाने अध्यक्ष बोगटिको भनाई छ । यो अभियानले भोलीका दिनमा समातामुलक समाज निर्माणमा सहयोग पुग्ने र समाजमा घटिरहेको बलात्कार, महिला हिंसा लगायतको घटना कम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखा अन्र्तगत उनिहरुलाई नगद रु. ५ हजार, प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको हो । करिब १२ वर्ष अगाडीदेखि छाउ प्रथाको विरुद्धमा लाग्नु भएकी गाउँपालिकाको वडा नं. ४ की कृष्णा भट्ट जोशीले पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलाका रुपमा सम्मान गरेकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै अर्का सम्मानित हुने पूर्वीचौकी गाउँपालिका वडा नं. २ बगलेकका सुनिता ठकुल्लाले छाउ बार्ने महिलाहरुले अब आफ्नो समुदायमा छाउ बार्नु हुँदैन भनी जनचेतनामूलक कार्यक्रमबाट सचेतना फैलाउने प्रतिबद्धता जनाउनुभयो ।
यसैबिच पूर्वीचौकी गाउँपालिकाले ८० वर्षभन्दा माथिका गाउँपालिकाका विभिन्न ठाउँका १४ जना जेष्ठ नागरिकहरुलाई पनि नगद तथा प्रमाण–पत्र सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्