पर्यटकको पर्खाइमा निसराङ्ग ताल, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना छः अध्यक्ष गुरुङ

पर्यटकको पर्खाइमा निसराङ्ग ताल, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना छः अध्यक्ष गुरुङ

उत्तरी गोरखाको धार्चे गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यो गाउँपालिका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा सम्पन्न रहेको छ।

भौगोलिक रुपमा बिकट भएपनि पर्यटकीय क्षेत्रका हिसावले धार्चे गाउँपालिका पर्यटकहरुको रोजाइमा पर्ने पयैटकिय स्थल पनि हो । धार्चेमा रहेको क्यान्टी लिभर पुल, तातोपानी कुण्ड, धार्चे डाँडा, गणेश हिमाल, कलकाङ्ग, रक क्लाइम्बिङ्ग, प्यारग्लाइडिङ्ग क्षेत्र, न्याउली झरना, लाप्राकको एकीकृत नमुनाबस्ती प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकसित भइसकेका छन् । याहाँ रहेका पुरातात्विक, धार्मिक तथा ऐतिहासिक बौद्ध गुम्बाहरुले त्यहाँ पुग्ने पर्यटकको मन जित्ने गरेको धार्चे गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङ बताउनुहुन्छ ।

धार्चे गाउँपालिकाकामा अन्य त्यस्ता आकर्षक पर्यटकीयस्थल पनि छन् जुन प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् । धार्चे र चुमनुव्री गाउँपालिकाकाको संगमस्थलको रुपमा रहेको निसराङ्ग ताल यस क्षेत्रको प्रमुख पर्यटकीय सम्भावना बोकेको एउटा प्रमुख गन्तव्यस्थल हो । समुद्र सतहबाट झण्डै चर हजार ७०० मिटर उचाइमा रहेको यो तालका वरपर साना ठूला कैयौँ हिमश्रृंखलाका बीचमा मनोरम दृष्य देखिने निसराङ्ग तालको सौन्दर्यताले धार्चे र चुमनुव्री गाउँपालिकाको प्राकृतिक सौन्दर्यमा सुनमा सुगन्ध थपिए जस्तै बनाइदिएको छ ।

कुल तीन दशमलब तीन किलोमिटर क्षेत्रफलमा फैलिएको निसराङ्गताल घुम्न मात्र करिब तीन घण्टा खर्च गर्नैपर्छ । सूर्योदय र सूर्यास्तको समयमा निसराङ्ग ताल अझै आकर्षक देखिन्छ । यो ताललाई स्थानीय भाषामा ‘निसराङ्गच्छो’ नामले चिनिन्छ । यो ताल धार्मिक हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय गुरुङ्ग भाषामा निसराङ्गको अर्थ मनोकामना र च्छो भन्नाले ताल भन्ने बुझिन्छ । मनको कामना पूरागर्ने तालका रुपमा त्यस क्षेत्रका स्थानीयबासीले निसराङ्गताललाई चिन्ने गरेका छन् । ‘‘विशेष गरी छोराछोरी नहुनेहरु जसरी पनि एक पटक यो तालमा पुग्नैपर्छ भन्ने स्थानीयको मान्यता रहेको अध्यक्ष गुरुङ बताउनुहुन्छ । सन्तान नहुनेहरु त्यहाँ गएर पूजापाठ गरेपछि सन्तान हुन्छन् भन्ने मान्यता पनि रहेको छ ।निसराङ्गताल परिसरमा हरेक वर्षको जनै पूर्णिमाको दिन ठूलो मेला समेत लाग्ने गरेको उनले बताए ।

अर्को अनौठो कुरा के छ भने त्यहाँ पुग्ने पर्यटकले असोजदेखि करिब माघको अन्तिम सम्ममा निसराङ्गतालमा पानी देख्न पाउदैन । यो अवधीमा ताल पूरै जमेको अवस्था हुने स्थानीयबासी बताउछन । निसराङ्ग तालमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सके त्यस क्षेत्रका बासिन्दाहरुले रोजगारी पाउनुका साथै गाउँपालिकाको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । निसराङ्ग ताललाई गाउँपालिकाको एउटा महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न चाहेको उहााले बताउनुभयो । उहाँले उक्त तालको संरक्षण, सम्बद्र्धन र प्रचार– प्रसारका लागि योजना निर्माण गरिरहेको समेत बताउनुभयो ।

निसराङ्ग ताल पुग्न तातोपानीबाट एकदिनको यात्रामा जगत पुग्न सकिन्छ । त्यहाँबाट करिब चार घण्टाको पैदलयात्रा गरेपछि रोल्पाडाँडा पुगेसँगै रोल्पा डाँडाबाट गणेश हिमाल र श्रृगी हिमाल दृष्यावलोकन गर्ने अवसर त्यहाँ पुग्ने पर्यटकले पाउनेछन् । रोल्पा डाडाँबाट ताक्पुकसम्म दुई घण्टाको यात्रा तय गरेपछि पर्यटकहरु ताक्पुकमाभेडी खर्कहरुमा बास बस्नुपर्ने र अर्को दिन ताक्पुकबाट भुङरङ केही घण्टाको यात्रासँगै निरमसी चौरमा पुग्न सकिन्छ । त्यहाँ पुगेपछि निसराङ जान समय अभाव हुने भएका कारण एकरात त्यहीँ बास बस्नुपर्ने हुन्छ । निरमसी चौरमा बास बस्ने पर्यटकहरुले गणेश हिमाल आमनेसामने देख्ने अवसर पनि पाउने छन् । त्यतिमात्र होइन निरमसी चौरमा दिनभरि थाकेका पर्यटकहरुको थकाइलाई त्यहाँ देखिने कस्तुरी, झारललगायतका पशुवस्तु देखेर रमाउँछन् । आँखै अगाडि देखिने श्रृगी हिमालले त झनै पर्यटकको मन भुलाइ दिन्छ नै । कतिपय अवस्था हिमचितुवा समेत हेर्ने अवसर मिल्ने गरेको स्थानीयबासी बताउछन् । भुङरङबाट हिडेपछि भने पर्यटक करिब २–३ घण्टामा निसराङ्ग तालमा पुग्न सक्छन् । निसराङ्ग तालको संरक्षणका लागि यसअघि बजेट बिनियोजन नभएको भएपनि प्रदेश सरकारले यो वर्षदेखि काम थालेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा तालको संरक्षणका लागि रु एक करोड बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्