स्थानीय सरकार गठन भएको छोटो समयमा मुलुकका केहि स्थानीय तहहरु विकासको मार्गतर्फ तिब्रगतिमा अगाडि बढिरहेका छन् । यिनै मध्येको एउटा उदाहरण, नवलपरासी जिल्लाको सुनवल नगरपालिका पनि हो । स्मार्ट सिटी बनाउने लक्ष्यसहित अगाडि बढिरहनु भएका सुनवल नगरका, नगर प्रमुख भीम बहादुर थापाको योजना र त्यसको कार्यान्वयको रणनिति पनि त्यतिकै अनुकरणिय नै छ ।
आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनताहरुकै भएको नगर प्रमुख थापा बताउनु हुन्छ । नगरपालिकाले विद्युतीय सुशासन प्रणाली सहितको स्मार्टपालिका सिस्टम सुरु गरिसकेको छ । नगर प्रमुख थापाले विद्युतीय सुशासनको सुरुवातसँगै नगरपालिकामा गरिने सबै कामकाजहरु अब मोबाइल एपको माध्यमबाट उपलब्ध हुने बताउनुभयो । देशका कतिपय स्थानीय तहमा विद्युत नपुगेको अवस्थामा सुनवलमा मोबाइल एप जस्ता डिजिटल प्रविधिको माध्यमबाट सेवा प्रवाह भईरहेको दृष्यले, यहाँका जनप्रतिनिधिको स्पष्ट भिजन र उत्कृष्ट कार्य शैलिलाई पनि झल्काउदछ ।
नगरपालिकाका यूवाहरुलाई स्वरोजगार बनाउन कृषि तथा पशु स्वास्थ्य तालिम प्रदान गरिरहेको छ । नगरपालिकाका ६० जना बेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउन कृषिसम्वद्ध विभिन्न तहको तालिम संचालन गरिएको हो । यूवाहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा तालिम प्रदान गरि कृषिमै आय आर्जन गर्न प्रोत्साहन गरिने तालिम संचालन पनि गरिएको हो ।
नगर प्रमुख थापाले तालिमले नगरभित्र हुने कृषि उपजको बजार व्यवस्थापन गर्न, विउविजन, मलखादमा अनुदान र प्राविधिक सहयोग गरिरहेको धारणा व्यक्त गर्नु भयो । नगरपालिकाले कृषिमा आत्मनिर्भर हुन किसानलाई धान, गहँु लगायतका उन्नत जातका बिउ बितरण गर्दै आएको छ । महिला तथा युवाहरुलाई नगरस्तरमै स्वरोजगार बनाउन कम्युटर तालिम, सिलाई कटाई, ईलेक्ट्रोनिक तालिम लगायतको कार्यक्रमहरु पनि नगरपालिकाले संचालन गरिरहेको छ ।
सुशासनमा जोड दिएको सुनवल नगरपालिकाले ३५ दिन भित्र जन्म दर्ता गर्र्दा २ हजार र मृत्यु गर्दा ५ हजार रुपैया प्रदान गर्ने ब्यवस्था गरेको छ ।
गुणस्तरिय र प्राविधिक शिक्षामा जोड दिएको नगरपालिकाले १ बिद्यालय १ उद्यानको रणनिति समेत बनाएको छ । यस कार्यक्रमबाट विद्यालयमा हरियाली प्रवद्र्धन हुने नगरपालिको अपेक्षा छ । २०७५ सालको भदौ ३ गते सुनवल नगरपालिकालाई देशकै पहिलो बालमैत्री नगरपालिका घोषण गरिएको थियो । नगरले आगामी दिनमा गुणस्तरिय र शर्वसुलभ शिक्षाको लक्ष्य अनुसार थप कार्यक्रमहरु ल्याउने योजना बनाएको नगर प्रमुख भिम बहादुर थापा बताउनु हुन्छ ।
स्वास्थ्य क्षेत्रमा सुनवल स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल बनाउने प्रक्रिया शुरु भएको छ । नगर भित्र सुविधा सम्पन्न अस्पताल बनेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । विगतमा यहाँका स्थानीयवासीहरु सानोतिनो उपचारको लागि वुटवल र भैरहवा धाउन बाध्य थिए तर स्थानीय सरकारको स्वास्थ्यमा प्रथामिकता पछि त्यस्तो बाध्यता विस्तारै हटेको छ ।
कृषि, पर्यटन, उद्योग, ब्यापार धार्मिक क्षेत्रलाई समेटेर नगरपालिकाले बिकासका कामहरुलाई अघि बढाएको छ । यस्तै, २५ करोड लागतमा सुनवल हिलपार्क निर्माण भइरहेको नगरप्रमुख थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकारप्रति स्थानीय जनताको अपेक्षाहरू धेरै छन् ती अपेक्षाहरु नगरपालिकाले पूरा गर्दै पनि आईरहेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीको असर सुनवल नगरपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न नगरपालिका सफल भएको छ ।
कोरोना माहामारीमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । यसले पनि सुनवल नगरपालिकाको प्रभावकारी योजना र चुस्तदुरुस्त व्यवस्थापनलाई झल्काउदछ ।
आगामी दिनमा नगरवासीहरुको हित र अपेक्षालाई मध्यनजर गर्दै स्मार्ट सिटीको रुपमा सुनवल नगरपालिकालाई अगाडि बढाउने योजना, नगर प्रमुख थापाको छ ।


प्रतिक्रिया दिनुहोस्