खिम्ती ( रामेछाप ) । नेपालकै नमुना ग्रामिण विद्युत सहकारी संस्थाको रुपमा ६० मेघावाट क्षमताको खिम्ती जलविद्युत आयोजना प्रभावित क्षेत्रमा विद्युतीकरण तथा विकासका गतिविधिहरु संचालन गर्ने उद्धेश्यले स्थापित खिम्ती ग्रामिण विद्युत सहकारी संस्था ( केआरइसी ) को साधारणसभाबाट नयाँ संचालक समिति गठन भएको छ ।
रामेछाप र दोलखा जिल्लाको नेकपा र कांग्रेसमा आवद्ध यूवाहरुको वर्चस्वमा बनेको नयाँ समितिको अध्यक्षमा रामेछापको लिखुतामाकोशी–६, का शेर बहादुर खड्का, उपाध्यक्षमा दोलखाको तामाकोशी–५, का भुवन केसी तथा कोषाध्यक्षमा सोही स्थानका धिरज सुवेदीसहितको समिति निर्विरोध निर्वाचित भएको हो । कोरोनाको महामारी र दलिय भागबण्डा मिलेपछि सधैं हुने कडा चुनावी घुम्साघम्सी यसपटकलाई टरेको छ । यस अघि यहाँको निर्वाचनको धमास प्रतिनिधिसभाको निर्वाचन भन्दा कम हुने गरेको थिएन् ।
( विगतमा सम्पन्न निर्वाचनको एउटा तस्विर । )
विद्युतीकरणलाई व्यवस्थित गर्दै विकासका कामहरु समेत संचालन गरेर दोलखा र रामेछापका प्रभावित क्षेत्रको जिवनस्तरलाई सहज बनाउने उद्धेश्य राखेर आज भन्दा १६ वर्षअघि स्थापना भएको यो संस्थाले अहिले विद्युतीकरणको काम पनि प्रभावकारी र सहजरुपमा गर्न नसकेको आरोप चर्कोरुपमा खेपिरहेको छ ।
विद्युतीकरणबाट सदस्यहरुले बुझाएको महशुल र हिमाल पावर लिमिटेडको अनुदान बाहेक अहिले यो संस्थासँग कुनै आम्दानीको श्रोत देखिन्न । हिमाल पावर लिमिटेडले बनाइ दिएको झाक्रे र हलुवा पावर प्लान्टबाट उत्पादित १ मेघावाट क्षमताको यो संस्थाले पहल गरेमा अन्य साना जलविद्युत परियोजना पनि निर्माण गर्न सक्दछ तर संचालकहरु विज्ञता भन्दा पनि राजनितिक पृष्ठभूमिका हुनु अनिवार्य जस्तै भएका कारण पनि त्यस्तो सम्भावना कम देखिन्छ । त्यसैकारण, यस संस्थालाई विद्युत प्राधिकरणमा गाभ्नु पर्ने तर्कहरु पनि बेलाबखतमा आउने गर्दछन् ।
यद्धपि, यस पटकको संचालक समितिमा यूवा अनुहारहरुको हालिमुहाली भएकोले संस्थाका शेयर सदस्यहरु केआरइसीमा सुधारको झिनो आशा पनि व्यक्त गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्