बखफर, सिन्धुली । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले हरिहरपुरगढी गाउँपालिकाको वडा नं. २ का वडा अध्यक्ष चन्द्र बहादुर राईलाई वडामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि वडाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्न सोधेका थियौँ । उहाँले हालसम्म कोरोनाको खासै असर नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडामा अहिलेसम्म कोरोनाको असर परेको छैन तर सावधानी पूर्ण रूपमा अपनाएका छौं ।’
वडाले सुरुमा २ वटा क्वारेन्टाइनको व्यवस्था गरेकोमा अहिले सरकारको नीतिअनुसार होम क्वारेन्टाइनमै बस्ने व्यवस्था गरेको वडाध्यक्ष राईले बताउनुभयो । त्यसैगरी बाहिरबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राखी पि.सि.आर परीक्षण गराई उनीहरूको रिर्पोट अनुसार काम कारबाही अगाडि बढाउने गरेको उहाँले बताउनुभयो ।
झण्डै ५ महिनाको लकडाउनले गर्दा वडाका नागरिकहरूलाई यस रोगलाई जसरी भएपनि जितेर अगाडि बढनुपर्छ भन्ने भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँका नागरिक सचेत छन् । यस महामारीलाई जसरी भएपनि जितेर जानुपर्छ भन्ने छ त्यस कारणले गर्दा त्यति गाह्रो महशुस भएको छैन ।’
कोरोनाबाट बच्न वडाले विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले सुचना निकाल्नुका साथसाथै सबैको घर आँगनमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा जानकारी दिएको उहाँले बताउनुभयो ।
वडाले यस महामारीको बीचमा पनि सामाजिक दूरी कायम गरेर वडाबाट पाउने सेवा सुविधाहरू सबैलाई दिएकाले वडाबासीहरू सन्तुष्टी नै रहेको राईले बताउनुभयो । साथसाथै सम्पूर्ण सूरक्षा अपनाई वडाले विकास निर्माणका कामहरू पनि सुचारु गर्ने योजना रहेको वडाध्यक्ष राईले नेपाल मिडिया सेन्टरलाई जानकारी गराउनुभयो ।
कोरोना बिरुद्ध हरिहरपुरगढी गाउँपालिकाको वडा नं. २ का नागरिक सचेत

प्रतिक्रिया दिनुहोस्