हालसम्म कोही पनि संक्रमित छैनन्ः वडा अध्यक्ष भरत ढुङ्गेल

हालसम्म कोही पनि संक्रमित छैनन्ः वडा अध्यक्ष भरत ढुङ्गेल

मागपौवा, दोलखा । नेपालमा दिनानुदिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यसको रोकथाम तथा नियन्त्रण गर्न तीनै तहका सरकार प्रयासरत छन् । तीनै तहका सरकारमध्ये स्थानीय सरकारको भूमिका यसको रोकथामको लागि एकदम महत्वपूर्ण हुने भएकाले यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले शैलुङ गाउँपालिकाको वडा नं. ४ का वडा अध्यक्ष भरत ढुङ्गेललाई वडामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि वडाले के कस्ता प्रयासहरू गरिरहेको छ भनेर सोधेका थियौं ।

हालसम्म वडाभित्र कसैलाई पनि कोरोना संक्रमण नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म यस वडाभित्र संक्रमित नभएका कारणले त्यस्तो खासै प्रभाव परेको छैन । ’ त्यसैगरी वडाले काठमाडौँ लगायत अन्य जिल्लाबाट आउने व्यक्तिहरुलाई १४ दिन होम क्वारेन्टाइनमा र विदेशबाट आउने व्यक्तिहरुलाई गाउँपालिकामै भएको क्वारेन्टाइमा राख्ने व्यवस्था गरेको ढुङ्गेलले बताउनुभयो । क्वारेन्टाइनमा राखेपछि पि.सि.आर परीक्षण गराई वडाले रिर्पोटको आधारमा काम कारबाही अगाडि बढाउने गरेको उहाँले बताउनुभयो ।

कोरोना भाइरस नेपालमा मात्र नभएर विश्वमै भयावह रुपमा फैलिएकोले एकदमै कठिन परिस्थिति सिर्जना भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस महामारीले अहिले विश्वलाईनै चुनौति दिएको छ । नेपालमा पनि ५३,००० संक्रमित पुगिसक्यो र यस जिल्लामा पनि ३९ जनालाई संक्रमण भइसक्यो । यस कारणले गर्दा यसलाई व्यवस्थित गर्न निकै गाह्रो भइरहेको छ । यो एक खालको विश्वयद्ध नै जस्तो भएको छ । ’ वडाले संक्रमण फैलिन नदिन बस्ती बस्तीमा माइकिङ गरेर चेतना फैलाइरहेको छ ।

वडाबाट दिनुपर्ने सेवा सुविधा सहज रुपमा दिंदै आएकाले नागरिकको केही गुनासो नरहेको वडा अध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडाले गरेका काम कारबाहीबाट नागरिकहरु सन्तुष्ट नै रहेका छन् अब सम्पूर्ण कुराहरुको व्यवस्थापन गर्दै यस महामारीबाट बच्ने उपायहरु अपनाई विकास निर्माणका कामलाई पनि सँगसँगे अगाडि लानेछौं ।’

प्रतिक्रिया दिनुहोस्