निपाने, सिन्धुली । महमारीको रूपमा विश्वरभर फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि भयानक रूप लिइरहेको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तिनै तहको सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले दुधौली नगरपालिकाको वडा नं. ३ का वडा अध्यक्ष साने धामीलाई वडामा कोरोनाको प्रभाव कस्तो छ र यस महामारीको समयमा वडाले कसरी कामहरू गरिरहेको भन्ने कुराहरू राखेका थियौँ । उहाँले हालसम्म कोरोनाको खासै असर नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म महामारीको खासै प्रभाव परेको छैन । १ जना भारतबाट आएको व्यक्तिमा संक्रमण देखिएको थियो हाल उहाँ ठीक भइ सक्नुभएकोछ । ’ त्यसैगरी बाहिरबाट आउने व्यक्तिहरूलाई वडाले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
महामारीले सबै योजना तथा विकासका कामहरूमा ठूलो समस्या निम्त्याएको उहाँले बताउनुभयो । कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले टोल टोलमा गएर मास्क, स्यानिटाइजर, साबुन आदि वितरण गरी यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । त्यसैगरी दैनिक ज्याला मजदुरी गर्ने विपन्न वर्गका व्यक्तिहरूलाई यस परिस्थितिमा राहत वितरण पनि गरेको धामीले जानकारी गराउनुभयो । वडाले गरेको निर्णय, काम कार्बाहिप्रति सबै सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो । यस महामारीलाई न्यूनिकरण गर्दै सम्पूर्ण विकास निर्माणका कामहरूलाई अगाडि बढाउने उहाँको योजना रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्