डडेलधुरा । अजयमेरु गाउँपालिकाले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिहेको अध्यक्ष उमेशप्रसाद भट्टले बताउनुभयो । गाउँपालिकामा विदेशबाट आएका १६ जनामा कोरोना संक्रमण देखिएका थिए । ती सबै व्यक्ति भने हाल उपचार पश्चात ठीक भई घर फर्किसकेको अध्यक्षले बताउनुभयो । गाउँपालिकामा कोरोना भित्रिन नदिन सिमा नाकाहरूमा हेल्प डेक्स संचालन, नाकामा कडाई, विभिन्न जनचेतनामूलक कामहरू गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिकामा हालसम्म ५०० जनाको पि.सि.आर र ७०० भन्दा बढीको आर.डि.टी परीक्षण भइसकेको अध्यक्षले जानकारी गराउनुभयो ।
गाउँपालिकाले सुरुमा २८ वटा क्वारेन्टाइनको व्यवस्था गरेको थियो भने हाल क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएकाले ६ वटा क्वारेन्टाइनको व्यवस्था गरेको छ । त्यसैगरी संक्रमण फैलिन निदन गाउँपालिकाले वडाहरूमा ५÷५ बेडको आइसोलेसन सहित गाउँपालिका केन्द्रमै ३० बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको अध्यक्षले जानकारी गराउनुभयो ।
महामारीले सुरुको अवस्थामा गाह्रो बनाएपनि विस्तारै सबै कुराको व्यवस्थापन गर्दै आइरहेको अध्यक्षले बताउनुभयो । यस अवस्थामा स्थानीय तहले गरेका काम कार्वाही प्रति नागरिकहरू सन्तुष्ट नै रहेको अध्यक्ष भट्टले जनकारी गराउनुभयो । कोरोना भाइरससँग लड्न गाउँपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि गाउँपालिकाबाट नै व्यवस्था गर्दै आइरहेको अध्यक्षले जानकारी गराउनुभयो । गाउँपालिकाले जनताको घर आँगनमै पुगेर सचेतना फैलाइरहेको छ । विभिन्न रेडियो कार्यक्रम तथा चेतनामूलक कार्यक्रम गरेर स्थानीयहरूलाई यस रोगबाट कसरी सुरक्षित रहने र सावधानी कसरी अपनाउने लगायतका विषयमा सचेत गराइरहेको छ ।
कोरोनाबाट बचेर नै हामी अगाडि बढ्नुपर्ने उहाँको तर्क रहेको थियो । उहाँले यस महामारीसँग जुध्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्छेहरू रोगले भन्दा नी भोकले मर्ने स्थिति आइसकेको छ । विदेशबाट धेरै संख्यामा रोजगार गुमाएर आउने युवाहरू छन् । यी सम्पूर्ण जनशक्तिलाई कसरी रोक्ने र उत्पादन क्षेत्रमा कसरी जोड्ने भन्ने नीतिलाई पहिलो प्राथमिकता दिएका छौँ । अरु विकास निर्माणका कामहरू निरन्तर चलिनै रहेका छन् । ’ मिडियाले जनतासामु सत्य तथ्य समाचार फैलाउन एकदम महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष भट्टले सम्पूर्ण नेपालीप्रति सरकारले भनेबमोजिम नियम पालन गरेर साथ दिएकोमा धन्यवाद दिनुभयो । उहाँले विदेशबाट आएका सम्पूर्ण यूवा जनशक्तिहरूलाई कृषिमा अग्रसर भई उत्पादन बढाउन र देशलाई आत्मनिर्भर बनाउन अपिल समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्