गाउँपालिका संक्रमण मुक्त छः अध्यक्ष विष्ट

गाउँपालिका संक्रमण मुक्त छः अध्यक्ष विष्ट

डडेलधुरा । हाल महामारीको रूपमा फैलिदै गएको कोरना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि नेपालका तीनै तहका सरकार प्रयासरत छन् । तीनै तहका सरकार मध्ये स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले डडेलधुरा जिल्ला अवस्थित नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बहादुर विष्टलाई गाउँपालिकामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि गाउँपालिकाले के कस्ता प्रयासहरू गरिरहेका छन् भन्ने प्रश्न सोधेका थियौँ । उहाँले गाउँपालिकामा सबै संक्रमित ठीक भई घर फर्किसकेकोले खतरामुक्त रहेको बताउनुभयो । यस महामारीलाई थप नियन्त्रण तथा रोकथाम गर्नको लागि नाकामा कडाइदेखि नागरिकहरूलाई सुरक्षित राख्न सचेतना फैलाइरहेको उहाँले बताउनुभयो ।


गाउँपालिकामा ६१ जनालाई कोरोना संक्रमण देखिएको थियो भने हाल सबै जना ठीक भई घर फर्किसकेको उहाँले बताउनुभयो । संक्रमित सबै भारतबाट आएका थिए समुदायभित्र भने संक्रमण नफैलिएको अध्यक्ष विष्टले नेपाल मिडिया सेन्टरलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकामा २५ सय जना भारतबाट भित्रिएका थिए । ती मध्ये ६१ जनालाई कोरोना संक्रमण देखिएको हो । कर्मचारी, स्वास्थयकर्मी र व्यापारी सबैको पि.सि.आर चेक गरेकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ । ’
त्यसैगरी हालसम्म गाउँपालिकामा ४०० भन्दा बढिको पि.सि.आर र २५०० जनाको आर.डि.टी परीक्षण भइसकेको उहाँले बताउनुभयो । गाउँपालिकामा पि.सि.आर परीक्षण अहिले पनि जारी रहेको उहाँले बताउनुभयो । गाउँपालिकामा बाहिरबाट प्रवेश गर्नेलाई सम्बन्धित वडामा क्वारेन्टाइनमा राख्ने गरेको र हाल भने क्वारेन्टाइनमा बस्नेको संख्या शुन्य भएपछि क्वारेन्टाइन हटाइएको अध्यक्षले जानकारी गराउनुभयो । अहिले आउनेलाई सामुदायिक भवनमा राख्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महामारीलाई रोक्न सफल भएका छौँ । कुनै पनि मानविय क्षति भएन, गाउँपालिका संक्रमण मुक्त छ । ’

यस महामारीमा पनि विकास निर्माणको कामलाई निरन्तरता दिइरहेको अध्यक्षले बताउनुभयो । यस अवस्थामा संघीय सरकारबाट केही सहयोग नभएको यद्यपि गाउँपालिकाले आन्तरिक श्रोत बाट नै खर्च जुटाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले चारैतिरबाट सडक सञ्जाल जोडका छौँ । खानेपानी, सिँचाईलाई पानी लिफ्टीङ गरेर ल्याएका छौँ, स्वास्थ्य क्षेत्रमा सुधार भइरहेको छ जसअनुसार १५ बेडको अस्पताल बन्ने क्रममा छ । शिक्षामा पनि सुधार भएको छ । कृषकहरूलाई अनुदान दिएका छौँ । सबै काम भइरहेको छ केही गर्ने क्रममा पनि छन् । नागरिक सबै सन्तुष्ट नै छन् । ’

कोरोनालाई थप नियन्त्रण गर्न नवदुर्गा गाउँपालिकाले टोलटोलमा माइकिङ गरेर सबैलाई सचेत गराइरहेको छ । साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने र कसैलाई आफुमा कोरोनाको शङ्का छ वा कोरोनासँग मिल्दो जुल्दो लक्षण छ भने गाउँपालिकामा आएर पि.सि.आर परिक्षण गर्नलाई गाउँपालिकाले आग्रह गरेको छ । साथसाथै गाउँपालिकाले स्थानीयहरूलाई संक्रमणबाट बचाउन मास्क तथा स्यानीटाइजर वितरण पनि गरिरहेको अध्यक्षले जानकारी गराउनुभयो । मिडियाले हरेक किसिमका समाचार जनतासम्म पुर्याउने भएकाले स्थानीय सरकार र मिडियाबिच राम्रो सहकार्य हुन जरुरी छ भन्दै अन्तमा सम्पूर्ण नेपालीप्रति यस महामारीको बेला सुरक्षित र सावधानी अपनाउन अध्यक्ष विष्टले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्