काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा पहिरो खस्दा कम्तीमा २१ घर पहिरोले पुरिएको छ।
पहिरोमा परी ४० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।
प्रहरी आइपुग्न पनि तीन घन्टा लाग्न सक्ने स्थानीय कान्छा तामाङले बताए। १३ जना जतिको पहिरोबाट उद्धार गरिसकिएको उनले घटनास्थलबाट जानकारी गराए।
‘धेरै जसो परिवारको कोही निस्कन पाएन। ४० जना जति बेपत्ता छन् जस्तो लाग्छ,’ लिदीबाट कान्छा तामाङले भने।
४० जना जति नै बेपत्ता भनेर कसरी अनुमान भयो त?
उनले भने, ‘बाँचेको त सबै निस्किसके। यहाँ जम्मा भइसके नि। अरु खै कोही निस्केको छैन अहिलेसम्म। यसैले ४० जना जति भेटेको हो कि भन्ने मेरो अनुमान हो।’
घाइतेलाई अस्पताल लैजान हेलिकप्टरको पर्खाइमा रहेको उनले बताए।
‘हेलिकप्टर आउँछ भनेको छ। तर आकाशमा बादल लागिरहेको छ,’ उनले भने।
घटनास्थलमा गाउँपालिका प्रमुख, उपप्रमुख आउँदै गरेको उनले बताए।
वडा २ का अध्यक्ष प्रताप लामा उक्त क्षेत्रमा जाँदै गरेको जानकारी दिए।
‘२१/२२ घर पहिरोमा परेको जानकारी आएको छ। अहिले उद्धारका लागिसुरक्षाकर्मी र स्वास्थ्यकर्मी त्यसतर्फ लागिसक्नु भएको छ,’ जुगलगाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रताप लामाले भने, ‘माथिल्लो भेगमाभएकाले अवस्था के छ सबै जानकारी पाइसकेका छैनौं। त्यता जाँदैछौं।’
जनधनको क्षति धेरै हुने आँकलन भए पनि यकिन विवरण आउन सकेको छैन।
काठमाडौंबाट हेलिकप्टर उड्दै
गाउँपालिकाका तरुण दलका अध्यक्ष केदार दोङ अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन्। आफू हेलिकप्टर लिएर त्यसतर्फ जान लागेको उनले जानकारी दिए। पहिरो खसेको जानकारी पाएपछि उनी उद्धारका लागि लागेका हुन्।
‘सडकबाट अहिले जानसक्ने अवस्था छैन। हामी हेलिकप्टर लिएर जान लागेका छौं,’ दोङले भने। भूकम्प पनि उक्त क्षेत्रमा असर पुगेको र बलेफी हाइड्रो पावर निर्माणको क्रममा उक्त स्थान कमजोर भएको उनले बताए।
जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले हेलकप्टरबाट उद्धारका लागि जाने तयारी भइरहेको जानकारी दिएका छन्।
‘के कसो भएको यकिन छैन। हेलिकप्टर लिएर उद्धारमा जाने तयारी गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘पहिरो गएको क्षेत्रको अवस्था अहिले नै भन्न सकिने स्थिति छैन।’
प्रतिक्रिया दिनुहोस्