मन्थली नगरपालिकाको नीति : ‘ठूला पूर्वाधार, समृद्ध नगरको आधार’
प्रकाशित मिति : Monday, August 19, 2019nayapulonline
नगरपालिकाले चालु आवमा सेवा प्रवाह, संस्थागत क्षमता अभिबृद्धि र सुशासनमा योगदान पुर्याउने, स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिबृद्धि गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभिबृद्धि गर्ने, दिगो विकास, वातावरण संरक्षण र विपद्व्यवस्थापनमा योगदान पुर्याउने, लक्षित वर्गका जिविकोपार्जनमा सघाउ पुर्याउनेनीति समेत चालु आवको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
राजश्वका दरहरुलाई उपयुक्त विन्दुमा राखी दायरा विस्तारमा जोड दिने, नगर भित्र रहेका सरकारी, सार्वजनिक र नगरको स्वामित्वमा रहेका जमिन भाडामा लगाउने, नगरपालिकाको लगानीमा निर्माण भएका पूर्वाधार तथा सडकमा सेवा शुल्क लगाई आय संकलन गरिने नीति पनि चालु आवमा लिएको जनाएको छ ।
नगर क्षेत्र भित्रका निर्माण व्यवसायी, उद्योगी तथा ब्यापार ब्यवसायी, परामर्शदाता लगायतका संस्थालाई अनिवार्य दर्ता÷नविकरण गराइ ब्यवसायको आकार, प्रकृति, उद्देश्य र कारोवारका आधारमा करको दर निर्धारण गर्ने र ‘ठूला पूर्वाधार, समृद्ध नगरको आधार’ भन्ने नारालाई जोड दिने नीति पनि लिएको नगरप्रमुख रमेशकुमार वस्नेतले बताउँनुभयो ।
पूर्वाधार निर्माण गर्दा सार्वजनिक, निजी, सामूहिक लागत साझेदारी तथा बाह्य स्रोत परिचालनमा प्राथमिकता दिने, बस्तीस्तरबाट माग भएका, रोजगारी सिर्जना हुन सक्ने, वातावरणमा कम असर पर्ने, स्थानीय सहभागिता जुट्न सक्ने कम लागतमा बढी जनसंख्या लाभान्भित हुने तथा क्रमागत योजनाको कार्यान्वयनमा प्राथमिकता दिने नीति पनि नगरको रहेको बस्नेतले जनाउँनुभयो ।
पूर्वाधारका योजना तर्जुमा गर्दा प्रचलित ऐन, नियम, कार्यविधि र नगरपालिकाका निर्णयलाई पूर्णतः पालना गर्ने, नगर केन्द्रदेखि वडा केन्द्र जोड्ने र प्रमुख बजार केन्द्र तथा कृषि उत्पादन केन्द्र जोड्नेसडकलाई प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्ने कार्यलाई निरन्तरता दिने र पूर्वाधार निर्माणमा संघ र प्रदेश सरकारसँग समेत समन्वय गर्ने उहाँको भनाइ छ ।
विकास निर्माणको गुणस्तर मापनका लागि सरोकारवाला निकायसँग समन्वय गरि ल्याव स्थापना गर्ने, एकिकृत वस्ती विकासलाई प्रोत्साहन गर्न समुदायले १५ घरसम्म एकै स्थानमा वनाउने योजना ल्याएमा सडक, विद्युतको व्यवस्था नगरपालिकाबाट नै गरिनुका साथै नक्शा पास दस्तुरमा ५० प्रतिशत सम्म छुट दिने नीतिलाई निरन्तरता दिने उहाँले जनाउँनुभयो ।
सडकको नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गर्दै ट्रयाक ओपन भइसकेका सडकको स्तरोन्नती गर्न र बनिसकेका सडक, पुल पुलेसा संरक्षण, मर्मत र सम्भार गर्न प्राथमिकता दिने, सडक लगायतका मुख्य पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदनको कार्य नगरपालिकाको कार्यालयवाटै गरिने जनाइएको छ ।
उर्जा संकट न्यूनिकरण गर्न साझेदार संस्थाको सहयोग समेत जुटाई साना जलविद्युत, सौर्य उर्जा, वायुउर्जा लगायत वैकल्पिक उर्जाका कार्यक्रम सञ्चालनमा जोड दिने नगरको नीति रहेको प्रमुख बस्नेतले जानकारी दिनुभयो । सोही अनुसार चालु आवमा नगरले योजना निमार्ण गरेको उहाँको भनाई छ ।
यस्तै, नगरले चालु आवमा ८२ करोड ४ लाख ३० हजार रुपैयाँको बजेट निमार्ण गरेको छ । वभिन्न विषयगत क्षेत्र अन्तर्गतका योजना तथा कार्यक्रमका लागि यो वजेट विनियोजन भएको हो । नगरपालिकाले भौतिक पुर्वाधार क्षेत्र तर्फ ५ करोड ६२ लाख ६९ हजार, सामाजिक विकास क्षेत्र तर्फ ३२ करोड ८२ लाख ८१ हजार, सामाजिक
सूरक्षा तर्फ १३ करोड ५० लाख ४३ हजार, आर्थिक विकास क्षेत्र तर्फ १० करोड २३ लाख ५९ हजार बजेट विनियोजन गरेको छ । वन, वातावरण तथा विपद व्यवस्थापनमा तर्फ ४७ लाख ९२ हजार, संस्थागत विकास, क्षमता विकास तथा सेवा प्रवाह तर्फ ६४ लाख ६८ हजार, नगर गौरवका आयोजना सञ्चालन तर्फ ४ करोड ४९ लाख २७ हजार, चालू खर्च तर्फ १४ करोड २३ लाख बजेट विनियोजन गरेको पनि प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्