दाङ/ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने भएको छ । पछिल्लो समय खादाको प्रयोग बढ्दा स्थानीय उत्पादनहरु ओझेलमा परेको भन्दै फूलको माला र ढाकाको खादालाई प्रयोगमा ल्याउने नीति अघि सारेको हो । उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार प्लाष्टिकजन्य सामग्री निषेध गरी दुना टपरीलाई प्राथमिकता दिने नीति पनि अघि सारेको छ ।
त्यस्तै आगामी आर्थिक बर्षमा फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । यस अघि फोहर बिर्सजन गर्ने स्थायी ठाउँ नहुँदा बजारको फोहरलाई तुलसीपुरको महेन्द्र माबि नजिकै रहेको खोलामा फाल्ने गरिएको थियो । अब भने उपमहानगरले फोहर मैला प्रशोधन केन्द्र स्थापना गरी फोहोरको दिगो व्यवस्थापन गर्ने जनाएको हो । त्यसका लागि ‘ल्यान्ड फिड साईड’ निर्माण गर्ने भएको नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै उपमहानगरपालिकाले सामुदायिक र निजी वनलाई दिगो ब्यबस्थापन गर्ने, सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने, बाढीको जोखिममा रहेका नदी तथा खोलाहरुमा पूर्व सूचना दिने प्रणाली जडान गर्न प्रदेश सरकारसँग समन्वय गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्