कपुरकोटलाइ समृद्ध बनाउने दिशातिर अग्रसर छौँः अध्यक्ष सेन

कपुरकोटलाइ समृद्ध बनाउने दिशातिर अग्रसर छौँः अध्यक्ष सेन

सल्यानको कपुरकोट गाउँपालिका कर्णाली प्रदेशको प्रवेशद्धार पनि हो । साविकको धनवाङ, रीम, सिनवाङ र गर्पा गरि ४ वटा गाउँ विकास समिती मिलेर बनेको यस गाउँपालिका ११९.२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । अग्ला पहाडहरुको संगमस्थल र भौगोलिक बनावटका कारण यस गाउँपालिकामा अत्यन्तै सुन्दर र रमाइला थुप्रे पर्यटकिय स्थलहरुपनि छन । अनुकुल वातावरणको कारण यस गाउँपालिकालाई वेमौसमी तरकारी खेतीका साथै फलफूल खेतीको लागि उर्वर भूमिको बरदानको रुपमा पनि लिन सकिन्छ । जम्मा ६ वटा वडा रहेको यस गाउँपालिकामा स्थानिय तहको निर्वाचन पश्चात तत्कालिन नेकपा एमालेको तर्फबाट भिम बहादुर सेन गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो । हाल सेन नेकपा कर्णाली प्रदेश कमीटीको सदस्य तथा नेकपा कपुरकोटको इन्चार्ज र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको अध्यक्ष पनि हुनुहुन्छ । स्थानिय तहको शान्ति, सुरक्षा एवम् विकास र प्रशासन पनि सञ्चालन गर्ने सरकार स्थानिय सरकार हो भन्ने धारणा राख्ने अध्यक्ष सेन सुशासनको स्थापना गर्ने दायीत्व स्थानिय जनप्रतिनिधीको भएको बताउनुहुन्छ । प्रस्तुत छ, कपुरकोट गाउँपालिकाका अध्यक्ष सेन संग गरिएको कुराकानी ।
१) कोरोना भाइरसको असर कम गर्न, तपाईले र तपाई नेतृत्वको स्थानीय सरकारले के–कस्तो प्रयास गर्नुभयो ?

उत्तर : कपुरकोट गाउँपालिका कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य नाका पनि हो । यो नाकाबाट भारत लगायत विभिन्न देशबाट फर्केकाहरु तथा देशका विभिन्न शहर बजारबाट मानिसहरु कर्णालीका विभिन्न जिल्ला भित्रने गर्छन् । यसर्थ कोरोनाको जोखिम पनि देखिने भइहाल्यो । यहि कुरालाई मध्यनजर गरेर हामीले कर्णाली प्रदेश सरकारसंगको समन्वयमा गएको चैत्र १ गते देखी नै कपुरकोटमा हेल्थ डेस्क स्थापना गरी २४ सै घण्टा ज्वरो जाँच तथा आवश्यक परामर्श दिने कार्य गरेका छौँ । चैत्र १ देखि देखि असार मसान्तसम्म ५३६९८ जना पुरुष र १५९९३ जना महिला गरी जम्मा ६९६९१ जनाको स्क्रिनिङ गरियो । यसका साथै वडाध्यक्षज्युहरुको संयोजकत्वमा सबै वडाहरुमा सतर्कता समिति गठन गरी कोरोना भाइरस संक्रमणबाट बच्ने उपायको बारेमा व्यापक जनचेतनाका संदेशहरु विभिन्न संचार माध्यमहरुबट समेत घरघरमा पु¥याउने काम गरेका थियौँ भने ६ वटै वडाका गाउँ टोलहरुमा ३६ वटा निगरानि समूह गठन गरी विदेशबाट घर फर्किएका व्यक्तिहरुलाई घरपरिवार र छरछिमेकको सम्पर्कमा जानुभन्दा पहिला आवश्यक परामर्श गरी क्वारेन्टाइन, सामुदायिक क्वारेन्टाइनमा राख्ने, उहाँहरुको स्वाब संकलन गरि प्रयोगशाला पठाउने र पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने, गाउँ टोलमा लकडाउनको पालना गर्न लगाउने काम त्यतिखेर अलि कडाइपुर्वक गर्याैँ । गाउँपालिकास्तरिय तथा सामुदायिक क्वारेन्टाइनहरुको ब्यवस्था, आइसोलेसनको ब्यवस्था गरेर कोरोना नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारका लागि विभिन्न कदमहरु चाल्यौँ । नागरिक समाज, राजनीतीक दल सबैसंग समन्वय, सहकार्यका आधारमा हामीले कोरोना विरुद्धका अभियानहरु सञ्चालन गर्यौँ । अहिले पनि आवश्यक सचेतना र सावधानीका प्रयासहरु गरिरहेका छौँ । यस भाइरसबाट कसरि बच्न सकिन्छ भन्ने विषयमा अहिले आम नागरिकहरुलाई पनि थाहा भइसकेको महसुस हामीले गरेका छौँ ।

२) तपाई स्थानीय सरकारको नेतृत्वमा आएपछि विकास निर्माणका के के कामहरु भईरहेका छन् ?

उत्तर : हाम्रो गाउँपालिकामा एक/दुई वटा वस्ती वाहेक सबैतीर सडक पुगिसकेको छ । गाउँपालिकाका मेरुदण्डको रुपमा रहेका मुख्य सडकहरु कपुरकोट गााडापानि हुदै फालावाङ जोड्ने सडक, कपुरकोट खालि हुँदै दहवन जोड्ने सडक, कपुरकोट रीम हुदै सिनवाङ जोड्ने सडक, जुन कृषि सडकको रुपमा परिचीत छन्, यी सडकहरु निकै साँघुरा, जोखिमयुक्त र वर्षायाममा सञ्चालन हुनै नसक्ने अवस्थाका थिए । यी सडकलाइ फराकिलो बनाउने कार्य हामीले मापदण्ड बनाएर गरेका छौँ । जसले तरकारि तथा फलफुल खेतीमा लागेका यहाँका किसानहरुलाइ सहज तरिकाले उत्पादन गरेको कृषिजन्य वस्तु बजार सम्म ल्याउन पक्कै पनि हित गरेको छ । साथै हरेक वडामा हामीले कृषि सडक, कृषि टहरा निर्माण गरेका छौँ । यसैगरि वर्षाैँदेखि हाम्रो मुख्य बजार कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारमा खानेपानीको चरम अभाव थियो । ति दिन निकै कष्टकर थिए । त्यो अभावलाइ हटाउन हामीले लिफ्ट सिस्टमबाट खानेपानी योजना सञ्चालन गरेका छौँ । फोहोर ब्यवस्थापनका लागी डम्पीङ साईड निर्माण गरेर ट्याक्टरबाट नियमित फोहोर उठाइरहेका छौँ । विद्यालयका समस्या समाधान, विद्यालय भवन निर्माण, कृषिलाइ ब्यवस्थीत र आधुनिक बनाउन छुट्टै कृषि मोवाईल एप्स संचालन, विद्यालयमा महिनावारि हुने छात्राहरुको समस्यालाइ ख्याल गरेर निःशुल्क स्यानेटरि प्याड तथा प्राथमिक उपचारका सामाग्री र औषधिहरु सहित छुट्टै रेष्ट रुमको ब्यवस्था हामीले गरिदिएका छौँ । यी यस्ता कार्यक्रम र योजना पक्कै पनि प्रभावकारि छन् जस्तो मलाइ लाग्छ ।

३) कपुरकोट गाउँपालिकालाई विकसित र समृद्धि बनाउन तपाईका आगामी योजनाहरु के–के हुन् ?

उत्तर : हामी कपुरकोटलाइ समृद्ध बनाउने दिशातिर अग्रसर छौँ । कपुरकोट गाउँपालिकाको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न हुने कुराको महसुस गरि हामीले सुविधा सम्पन्न भवन निर्माण गरि नयाँ भवनबाटै सेवा प्रवाह गरिरहेका छौँ । यस्तै यहाँका वस्तीमा खानेपानीको समस्या रहेको थियो । यो समस्यालाइ टार्नका निमित्त विभिन्न वडाहरुमा लिफ्ट सिस्टमबाट खानेपानी योजना सम्पन्न गरेका छौँ । कतिपय यस वर्ष शुरु भइसकेका छन् । कृषि, पशु र पर्यटनलाइ विकास गर्नका लागी विभिन्न शाखा कार्यालयबाट धेरै योजनाहरु कार्यान्वयनको चरणमा छन् । गाउँपालिकाका मुख्य सडकहरु कपुरकोट गााडापानि हुदै फालावाङ जोड्ने सडक, कपुरकोट खालि हुँदै दहवन जोड्ने सडक, कपुरकोट रीम हुदै सिनवाङ जोड्ने सडकको स्तरोन्नती र बाह्रै महिना मोटर गुड्न सक्ने गरि निर्माण गरिरहेका छौँ ।

४) समग्रमा गाउँपालिकाको विकासमा लाग्दा सजिला÷अप्ठ्याराहरु कामहरु के–के छन् ?

उत्तर : विकासका काममा लाग्दा अफ्ठेरो स्थीतीहरु त आउँछन् नै, तर पनि हाल सम्मको अनुभवले ती कठीनाइहरुलाइ पार गर्दै अघि बढ्न सफल भएका छौँ । नीतिगत ज्ञान, प्राविधिक समस्याहरुले गर्दा जनअपेक्षाअनुसार विकासमा गति दिन नसकेको कुरा केहि हदसम्म हामीले स्वीकार्नु पनि पर्दछ । आर्थिक स्रोतको कमी र नागरिकमा चेतनाको कमीलाइ मैले प्रमुख चुनौतीको रुपमा लिएको छु । तर पनि मेरो कार्यकालभित्र देखिने र जनताले महसुस गर्ने गरी कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा आर्थिक विकास र समृद्धिका काम गर्ने गरी योजना निर्माण गरेर अगाडि बढ्ने प्रयत्नमा छु ।

५) यूवा पलायन रोक्न र स्थानीयस्तरमै रोजगारी सृजना गर्न के संभावना छ र कार्यक्रम के छ ?

उत्तर : हामिले कृषि र पशुपालनमा युवाहरुलाइ आकर्षण गर्न त्यस अनुरुपका योजना र कार्यक्रमहरु अघि सारेका छौँ । चालू आर्थीक वर्षमा युवासँग गाउँपालिका कार्यक्रम मार्फत युवा शशक्तिकरणमा जोड दिएका छौँ । यस्तै युवाहरुलाई विभिन्न सिपमुलक तालिमहरु प्रदान गरेर आफ्नै गाउँठाउँमा केहि गर्न सकिन्छ भन्ने कुराको बोध गराइरहेका छौँ । यसमा संघिय सरकारले पनि रोजगारका विभिन्न कार्यक्रमहरु ल्याएको छ यसले पनि पक्कै युवाहरुलाइ विदेश पलायन हुनबाट रोक्ने अपेक्षा गरिएको छ ।

६) स्थानीयतहमा आर्थिक स्रोतहरु के के छन् ? गाउँपालिकाले के कस्ता क्षेत्रमा कर लागु गरेको छ ?

उत्तर : हामीसंग त्यस्तो आर्थीक श्रोत त खासै छैन । त्यहि जनताबाट उठ्ने कर तथा राजस्व नै हो । हामीले कुनै नयाँ कर त लागू गरेका छैनौँ । पहिले जे जस्तो कर लाग्थ्यो त्यहि नै हो । तर सबैलाइ करको दायरामा ल्याउने प्रयासमा हामी छौँ । जनताले स्वीकार गर्न सक्ने कर हामीले लगाउने हो । हाम्रो साथ र सहयोगविना गाउँको विकास हुँदैन है भन्ने कुरा जनतालाइ बुझाएर सबैको रायसुझावको आधारमा कर निर्धारण गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्