वडाका नागरिकहरूलाई त्रसित नभई आत्मबल बढाउन आग्रह गर्दछुः वडाध्यक्ष लामा

वडाका नागरिकहरूलाई त्रसित नभई आत्मबल बढाउन आग्रह गर्दछुः वडाध्यक्ष लामा

मझुवा, रामेछाप । हाल विश्वभरी कोरोनाको त्रास फैलिरहेको छ जसमध्ये नेपाल पनि एक हो । नेपालमा कोरोनाको संक्रमण फैलिन थालेपछि नेपालमा ४ महिना भन्दा बढी लकडाउन भयो । लकडाउनले आम मानिसको दैनिकिदेखि लिएर मुलुककै अर्थतन्त्रलाई पनि प्रत्यक्ष रूपमा असर गर्यो । कतिपय बिकास निर्माणका कार्यहरू रोकिएका छन् भने योजनाका कामहरू पनि उस्तै छन् । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले खाँडादेवी गाउँपालिकाको वडा नं. २ का वडा अध्यक्ष इन्द्र कुमार लामालाई वडामा कोरोनाको प्रभाव कस्तो छ र यस महामारीको समयमा वडाले कसरी कामहरू गरिरहेको भन्ने कुराहरू राखेका थियौँ ।

उहाँले हालसम्म कोरोनाको खासै असर नपरेको तर नागरिकहरू त्रसित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थासम्म कोरोनाको त्यस्तो प्रभाव परेको छैन । संक्रमण फैलिन नदिन सावधानी अपनाएका छौं र बाहिरबाट आउने व्यक्तिहरूलाई हामीले १४ दिन होम क्वारेन्टाइनमा राखेर पि.सि.आर परीक्षण गर्ने व्यवस्था गरेका छौं । देश तथा विदेशमा धेरै संक्रमण फैलिएको कारणले नागरिक भने त्रसित भएका छन् जसले गर्दा समस्या उत्पन्न भइरहेको छ । ’

कोरोनाबाट बच्न वडाले विभिन्न कार्यक्रमहरू गरिरहेको छ । वडाले टोल टोलमा गएर मास्क, स्यानिटाइजर, साबुन आदि वितरण गरी यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । वडाले गरेको काम कारबाहीप्रति कसैको गुनासो आएका छैन सबै सन्तुष्ट नै रहेको लामाले बताउनुभयो । ‘हामीहरूले सामाजिक दूरी कायम गरेर वडाबाट दिने सेवाहरू दिइरहेका छौं’, उहाँले भन्नुभयो । त्यसैगरी वडाले यस आर्थिक वर्षको बजेटमा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको छ । शिक्षा, कृषि लगायत अन्य विकास निर्माणलाई पनि प्राथमिकतामा राखेर अगाडि लाने योजना रहेको लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्