काठमाडौं । आज आश्विन शुक्ल दशमी नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजा आराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइन्छ ।


आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।
दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।
यस दिन नवरात्रिभर अर्थात घटस्थापनादेखि नौ दिन पुजा आराधना गरिएकी नवदुर्गा भवानीको पूजास्थल र प्रतिमालाई बिसर्जन गरिन्छ । यस दिन सबैले फूल, अक्षता लिएर क्षमा प्रार्थनासाथ घडाको अभिशेक लिएर दुर्गा पूजा विसर्जन गर्दछन् । त्यसपछि घरको मुल ढोकाको दैलो माथि टिका र जमरा टाँसेर विधिवत रुपमा टिका लगाउने साईत हेरेर विजया दशमीको टिका फुकाईन्छ । टिका लगाउँदा विभिन्न प्रकारका श्लोकयुक्त आशिर्वाद बचनहरु बाचन गरिन्छ । सवैभन्दा प्रचलित श्लोक यस प्रकार रहेको छ-
आयु द्रोण सुते, श्रीयंच दशरथे, सत्रु क्षयम् राघवे,
ऐश्वोर्यं नहुषे, गतिस्च पवने, मानंम् च दुर्योधने,
दानम् सुर्य सुते, बलम् हलधरे, सत्यम् च कुन्ती सुते,
बिज्ञाने बिदुरे भवति भवताम् किर्तिस्च नारायणे ।
यसको अर्थ- द्रोणका छोरा अस्वत्थामाको जस्तो आयु, दशरथको जस्तो कीर्ति, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता, नहुस राजाको जस्तो ऐस्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, सूर्यका छोराजस्ता दानी, भीम जस्तो बल, युधिष्ठिर जस्तो सत्यवान्, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति र सम्मान होस् भन्ने हो ।
प्रतिक्रिया दिनुहोस्