काठमाडौं । सगरमाथा आरोही रामेछापका प्रकाशराज पाण्डेले पुन हिमाल आरोहण गरेको छन् । पाण्डेले मनास्लु हिमाल आरोहण गरेका हुन् । हिमालय पर्वत श्रेणी अन्तर्गत गोरखा जिल्लामा रहेको ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल नेपालको सातौ तथा विश्वको छैटौँ अग्लो हिमालका रुपमा रहेको छ । किलर माउन्टेनको रुपमा समेत परिचित उक्त हिमाल आरोहणलाई पाण्डेले सफतापूर्वक चढन सफल भएका छन् । रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सगरमाथा आरोहण गरेसँगै मनास्लु हिमालको आरोहण गरेका हुन् ।
दुर्घटनाले सगरमाथाको टुप्पामा पुर्यायो
रामेछापको तिल्पुङमा जन्मिएका प्रकाशराज ५ दाजुभाइमध्यका साहिँलो छोरा हुन् । उनीहरु सबै जनाकी एक जना बहिनी छन् । कक्षा ४ सम्म गाउँकै विद्यालयमा पढेका प्रकाशलाई अंग्रेजी माध्यमबाट पढाउन उनका अभिभावकले काठमाडौं पुर्याए । उनी डाँफे अंगे्रजी आवासीय माविमा फेरि नर्सरीमा भर्ना भएर पढ्न थाले । विद्यालयको पढाईकै क्रममा स्काउटमा पनि आबद्ध भए ।
त्यस पछि प्रसादी एकेडेमीबाट प्लस टु गरे । सन् २००७ मा स्काउटको शतवार्षिकीको अवसर पारेर नेपाल सरकारले रसुवाको लाङटाङस्थित उर्गेमा हिमाललाई ‘बेडेन पावेल स्काउट पिक’ नामाकरण गर्यो । स्काउटको तर्फबाट नरेश महर्जनले २००७ मा सो हिमाल आरोहण गरे । त्यसपछि न त त्यो हिमालको कुनै चर्चा भयो न कसैले हिमाल चढे ।
स्काउटको नाममा राखिएको हिमालको नाम गुमनाम भएपछि प्रकाशलाई कताकता त्यो हिमाल चढ्ने इच्छा जागेर आयो । सन् २०१६ मा उनी स्काउटको नाममा नामाकरण भएको उर्गेन हिमाल चढ्ने सोचमा पुगे र एकजाना गाइडका साथ स्काउटको तर्फबाट हिमाल चढ्न रसुवा पुगे । हिमाल चढ्ने खासै अनुभव थिएन । त्यसैले उनी हिमाल चढ्दा २ वटा ठूला दुर्घटनामा परे ।
पहिलो हिउँ जमेको खाडलमा उनी फसे । उनका गाइडले उनलाई बचाए । फेरि केहीमाथि पुगेपछि हिउँमा चिप्लिए, झण्डै ज्यान गएन । त्यहाँ पनि गाइडले बचाए । बालबाल बचेर ५ हजार ८ सय ९० मिटर अग्लो टाकुरोमा पुगे । तर फर्कदा अर्काे ठूलो दुर्घटनाबाट त्यसरी नै जोगिए । उनी र उनको पथप्रदर्शकको टाउको माथिबाट ढुँगा झर्यो । तैपनि उनीहरु बचे । प्रकाश सम्झन्छन्, ‘त्यसपछि यो जीन्दगी केही रहेनछ, अब म सगरमाथा चढेरै छाड्छु भन्ने अठोट गरेँ ।’
सगरमाथा चढ्ने अठोट मनमा बोकेका प्रकाश फेरि हिमाल चढ्ने तयारीमै लागे । सन् २०१७ मा सोलुको आइल्याण्ड हिमाल आरोहण गरे । निरन्तरको प्रयाससँगै सन् २०१८ को मे १६ को बिहान साढे ११ बजे उनले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका थिए।
प्रतिक्रिया दिनुहोस्