गायक प्रकाश सपुतको गीत ‘गलबन्दी’ युट्युबमा सार्वजनिक भएसँगै गीतले अनपेक्षित रूपमा दर्शक स्रोताको साथ पायो । मौलिकपनको दियो भन्दै धेरैले गीतको प्रशंसा गरे ।
तर, अहिले ‘गल्बन्दी’ लाई चोरिएको गीत भन्दै सामाजिक सञ्जाल तातिएको छ । गायक सपुतको आलोचना गर्ने पनि भेटिएका छन् । गायक शम्भु राईको गीतबाट ‘गलबन्दी’ चोरी भएको सामाजिक सञ्जालमा व्यापक हल्ला फैलिएको छ ।
गलबन्दीले चौतर्फी प्रशंसा पाइरहँदा धेरैले शम्भु राईको ‘आऊ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतको अनुकरण (कपी) भनेर आरोप लगाएका हुन् । गायक शम्भु राई भने सामाजिक सञ्जालमा हल्ला फैलाउनुभन्दा पनि सल्लाह गरेर अघि बढ्नु उपयुक्त रहेको बताउँछन् ।
उनले आफू सल्लाह गरिरहेको र सल्लाहअनुसार अघि बढ्ने बताएका छन् । उनले अहिले हतारमा प्रतिक्रिया दिनुभन्दा पनि छलफलपछि मात्रै प्रतिक्रियामा जाने शिलापत्रलाई बताए ।
‘गीत संगीत क्षेत्रमा रहेका विभिन्न संघसस्था र साथीभाइसँग सल्लाह गर्दै छु । एक्लै मात्रै कुरा गरेर हुँदैन, प्रस्तोता समाज, संगीतकार संघ, गीतकार संघ, रोयल्टी संकलन समाज जस्ता संस्थासँग बसेर छलफल गरिरहेको छु,’ उनले भने ।
आफूहरु एउटै क्षेत्रको भएकाले विभिन्न टीकाटिप्णी गर्नुभन्दा पनि छलफल र सहमति गरेर अघि बढ्ने उनले बताए ।
‘समाजिक सञ्जालमा हल्ला फैलाउनु मात्रै हो । म र प्रकाशजीबीच पनि कुराकानी भइरहेको छ । त्यसपछि हामी आधिकारिक कुरा बाहिर ल्याउँछौं,‘ उनले भने ।
त्यस्तै, गायक सपुतले पनि आफूले शम्भु राईसँगको आधिकारिक कुराकानी पछि मात्रै ठाेस धारणा बाहिर ल्याउने बताएका छन् ।
‘मेरो गीतसँग मिल्यो भनेको गीत मैले भर्खरै सुनेकाे हुँ , योभन्दा पहिले गीत सुनेको पनि थिइनँ, गीतको लय मिलेको रहेछ,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्