गलकोट नगरपालिका कोरोना महामारीको असरलाई कम गर्दै विकास निर्माणमा अघि बढ्छ : नगर प्रमुख शर्मा

गलकोट नगरपालिका कोरोना महामारीको असरलाई कम गर्दै विकास निर्माणमा अघि बढ्छ : नगर प्रमुख शर्मा

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि परेको छ । कोरोना महामारीलाई रोकथाम र नियन्त्रण गर्न स्थानीय तहको भुमिका एकदमै महत्वपुर्ण रह्यो । नेपाल अनलाइन समाचार डट कमले बागलुङ जिल्ला स्थित गलकोट नगरलिकाका प्रमुख भरत शर्मालाई नगरपालिकामा कोरोना र विकास निर्माणको अवस्थाबारे बुझ्ने प्रयास गरेको थियो । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानिको सम्पादित अंश:

कोरोना भाइरसको असर कम गर्न तपाईले र तपाईको नेतृत्वको स्थानीय  सरकारले के-कस्तो प्रयास गर्नुभयो?

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को व्यवस्थापन गर्न प्रथमत: यस गल्कोट नगरपालिकाले भारत लगायत तेस्रो मुलुकबाट फर्किने नागरिकहरुलाई सिमा नाका, प्रभावित क्षेत्रबाटै उद्धार गर्ने कार्य गर्याे र उनिहरुलाई सम्बन्धित वडासम्म  पुर्याइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्याे ।

उनिहरुको स्वाब संकलन गर्ने र स्वाब परिक्षणको क्रममा पोजेटिभ देखिएका संक्रमितलाई नरेठाँटि स्थित आइसोलेसनमा उपचार गरी निको बनाई घर पठाउने काम पनि हामीले गर्याैं। बिशेष निगरानिमा उपचार गर्नुपर्ने जटिल प्रकृतिका बिरामिलाई धौलागिरि अस्पताल बागलुङ सम्म पुर्याई उपचार गर्ने काम भयो ।

जसले गर्दा समुदाय स्तरमा कोरोना फैलिने संभावना अत्यन्त न्यून रह्यो । हामीले नगरपालिकाको ११ वटै वडामा १/१ वटा र नगरस्तरमा एउटा क्वारेन्टाइनको स्थापना गरेको थियौं । जनतालाई कोरोनाबारे सचेतना दिन माईकिङ गर्ने, विभिन्न संचार माध्यमबाट सुचना प्रवाह गर्ने, स्थानीय  स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरी तथ्याङ्क संकलन तथा बाहिरी क्षेत्रबाट आएका नगरबासीको अवस्था पत्ता लगाउने, स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन अनुरोध गर्ने, माक्स स्यानिटाइजर जस्ता सामाग्री वितरण गरी संक्रमणको संभावित जोखिम न्यूनिकरणका कार्यक्रम संचालन गर्ने कामहरु गरियो ।

यस सम्पुर्ण व्यवस्थापन गर्नको लागि नगरपालिकाले आफ्नै स्रोत र जनप्रतिनिधि परिचालन गरी सम्पुर्ण खर्च नगरपालिका आफैले गर्ने अवस्था रह्यो । त्यसमा नागरिकहरुको सकरात्मक सहयोग प्राप्त हुँदा नगरपालिकाको यो योजना पुर्ण रुपमा सफल हुँदा कोरोनाको जोखिम कम रह्यो ।

तपाई स्थानिय नेतृत्वमा आएपछि विकास निर्माण कार्य के के भईरहेका छन्?

स्थानीय तहको निर्वाचन भएर म नगरप्रमुखको नेतृत्वमा आएपछि विकास र निर्माण पहिलो प्राथमिकतामा राखेर काम संचालन गरेको अवस्था छ । पूर्वाधार सम्बन्धमा भन्नुपर्दा, प्रत्येक वडालाई नगरपालिकाको केन्द्र सम्म आउने जाने सहज यातयात व्यवस्थापन गरिएको छ । बजार व्यवस्थापनका लागि यस नगरपालिकाका मुख्य बजार क्षेत्र भित्रका सडक ढलान कार्य सम्पन्न भइसकेका छन ।

संस्थाको थप व्यवस्थापनको लागि नगरपालिकाकै पहलमा गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरि २५ शैयाको नगर अस्पतालको निर्माण गर्ने निर्णय सहित आवश्यक पुर्वाधारको चरणबद्ध रुपमा तयारी गर्दै अगाडी बडिरहेको छ भने ग.न.पा. ५ हरिचौरमा ५ शैयाको कोभिड अस्पताल संचालनमा ल्याइएको छ ।

अर्काे शिक्षा क्षेत्रलाई थप व्यवस्थापन गरी बाल शिक्षा कक्षा संचालन गरिएको छ । विद्यालयलाई बालमैत्री तथा प्रविधिमैत्री बनाउनका लागि विद्यालयमा सोही बमोजिमका पुर्वाधार निर्माण भइरहेको छ । यस क्षेत्रमा पर्ने पर्यटकिय क्षेत्र विकासको लागि संभाव्यता अध्ययन तथा पुर्वाधार निर्माणका कार्यहरु अगाडि बडिरहेको छ ।

सामाजिक सेवा तर्फ ८५ बर्ष पुगेका वृद्ध – वृद्धाहरुलाई बार्षिक रुपमा चाडपर्व खर्च वितरण गर्ने व्यवस्था गरिएको छ । सुत्केरी हुनु पुर्व र पछि मातृ तथा शिशु पोषणको व्यवस्था समेत नगरपालिकाले गरेको छ । वडातहमा राजश्व संकलन लगायतका कार्यलाई प्रविधिमैत्री बनाइएको छ । डिजिटल प्रोफाईल तयार गरी यस पालिकाको वस्तुस्थिति विवरण अनलाईन मार्फत सहज रुपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको छ ।

नगरपालिकालाई विकसित र समृद्ध बनाउन तपाईका आगामि योजना के के हुन?

आगामि योजनाको बारेमा भन्नुपर्दा यस नगरपालिकालाई एक वर्ष भित्रमा बालमैत्री तथा प्रविधिमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धता सहित कार्यक्रमहरु अगाडि बढाइएकाे छ । कोभिड–१९ को कारणले विदेशमा रोजगार गुमाएर फर्केका युवाहरुलाई स्वरोजगार बनाउनको लागी नगर प्रमुख रोजगार कार्यक्रम तथा नगर उप–प्रमुख रोजगार कार्यक्रम ल्याईएको छ ।

आन्तरिक आय वृद्धि गर्नको लागि करको दायराहरु बढाउने, फोहोर व्यवस्थापनका लागी फोहोर रिसाईकिलिन विधि उपयोग गर्ने चरणमा छौ । बस्ति विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड २०७४ तयार भइसकेको र त्यसको कार्यान्वयनको लागि घर नक्सा पासलाई अनिवार्य गरिएको छ ।

स्थानिय सेवा प्रवाहको लागि आवश्यक कानुन, नियम, कार्यविधि निर्माण भइरहेको छ । अझै आवश्यकता अनुसार निर्माण गर्ने योजना रहेकोछ । यस नगरपालिका भित्रका सम्पुर्ण वडाहरुमा वडा कार्यलय भवन निर्माण, स्वास्थ्य चौकि निर्माण, आवश्यकता अनुसार सामुदायिक भवनहरु लगायतका भौतिक पुर्वाधार निर्माणका कार्यहरु सम्पन्न हुने क्रममा छन् रहेका छन । समग्रहमा जनताको माग र आवश्यकताको आधारमा अन्य विकास निर्माणका कार्य प्राथमिकताका आधारमा अगाडि बढाउदै लगिने छ ।

अन्तमा , छुटेका केहि विषय तथा आम नागरिकमा तपाईको केहि भनाई तथा सन्देश भए राखिदिनु न ?

अन्तमा, यस स्थानीय सरकार सिकाइ र गराइको चरणमा भए पनि हामीहरुले जनताहरुलाई सन्तुष्ट हुने गरी काम गरेका छौ, भन्ने लागिरहेको छ । स्थानीय तह जनतासंग प्रत्यक्ष सरोकार राख्ने सरकार भएकाले सबै पक्षको समानुपातिक विकास नभएसम्म समृद्ध नगरको सपना पुरा हुदैन भन्ने कुरामा हाम्रो वर्तमान नेतृत्व विश्वस्त छ र यसैलाई आधार बनाएर यस नगरका योजनाहरु अगाडि बढाइएको छ । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्