असोज ११, २०७५ रामेछाप,
तुल्सीदेवी श्रेष्ठ,
नेपाल रेडक्रस सोसाइटी, भुकम्प प्रतिकार्य कार्यक्रम रामेछापले जिल्लाका कार्यक्रम संचालित क्षेत्र रामेछाप नगरपालिकाको रामपुर र मन्थली नगरपालिकाको मन्थलीमा अपांगता भएका व्यक्तिहरुको अपांगता स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ ।
प्राथमिक स्वास्थ्य चौकी, वडा कार्यालय लगायतका स्थानीय सरकारी निकायसँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीले शिविर सञ्चालन गरिएको हो ।
भूकम्प प्रतिकार्य मार्फत् रामेछाप जिल्लामा सञ्चालित संरक्षण, लैङ्गिकता तथा समावेशीकरण गतिविधि अन्तर्गत् अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री पहिचानका लागि शिविरको आयोजना गरिएको हो ।
मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा। राकेश दासको नेतृत्वमा संचालित शिविरमा हाडजोर्नी, आँखा, नाक, कान, घाँटी लगायत मनोपरामर्श, सामान्य चिकित्सा तथा फिजियोथेरापी सम्बन्धित चिकित्सकहरूले स्वास्थ्य जाँच गरी आवश्यकताको पहिचान गरिएको थियो ।
सम्बन्धित क्षेत्रका चिकित्सकहरूको सिफारिसका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामाग्री वितरण गर्ने रेडक्रसको योजना अनुरुप चिकित्सकको विशेषज्ञ टोली सहितको शिविरका दौरान रामपुर र मन्थलीमा गरी ८० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीले २०७२ वैशाख १२ र २९ गतेको भुकम्पले अति प्रभावित १४ जिल्लामा पुनर्लाभको कार्यक्रम भुकम्प प्रतिकार्य कार्यक्रम संचालनमा ल्याएको छ ।
भविष्यमा विपद्को सामना गर्न सक्ने गरी उत्थानशिल समुदाय निर्माण तथा विपन्न समुदायलाई मानवीय सहायता पु¥याई पहिला भन्दा अझ सुरक्षित र सक्षम बनाउँनु कार्यक्रमको लक्ष्य रहेको छ ।
समुदायको सक्रिय सहभागिता तथा परामर्शमा भुकम्प प्रभावितका नीजि आवास सँगसँगै, खानेपानी, सरसफाई तथा स्वच्छता, जिविकोपार्जन र स्वास्थ्यका क्षेत्रमा एकिकृत वृहद कार्यक्रम संचालन गरिरहेको छ ।
यसका अतिरिक्त संस्थागत क्षमता विकासमा पनि जोड दिई विपद प्रतिकार्यका लागि आवश्यक जनशक्ति तयार गर्ने, उपकरणकहरु सहयोग गर्ने, रक्त संचार सेवा तथा गोदामघर निर्माणमा जोड दिएको नेपाल रेडक्रस सोसाइटी, भुकम्प प्रतिकार्य कार्यक्रमका कार्यक्रम संयोजक जयराम वस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्