बुद्धभूमि पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त नगरपालिका घोषणा हुँदै

बुद्धभूमि पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त नगरपालिका घोषणा हुँदै

काठमाण्डौं। कपिलवस्तुको बुद्धभूमि नगरपालिका एकै पटक पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त नगरपालिका घोषणा हुने भएको छ । नगरपालिकाको गोरुसिंगेमा मङ्गलबार भव्य कार्यक्रमको आयोजना गरी नगरपालिकालाई पूर्ण बालविवाह मुक्त र पूर्ण खोप युक्त घोषणा गर्न लागिएको हो ।
विभिन्न अथक प्रयासले गर्दा नगरपालिकाले ठूलो उपलब्धी हासिल गर्न सफल भएको भन्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । मायादेवी अनलाइनसंग सोमबार कुराकानी गर्दै नगर प्रमुअ श्रेष्ठले नगरका सबै वडा पूर्ण बालविवाह मुक्त भएका र सबै वडा पूर्ण खोप युक्त भएकाले मङ्गलबार घोषणा गर्न लागिएको बताउनुभयो ।
कार्यक्रममा संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव आउनुहुने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच नगरपालिकाले छिट्टै नै शून्य होम डेलिभरी नगरपालिका पनि घोषणा गर्ने तयारी थालेको छ । हालसम्म दुई वडा शुन्य होम डेलिभरी वडा घोषणा भैसकेको भन्दै अबका केही महिना पछि ४ वडा एकै पटक शुन्य होम डेलिभरी हुन लागेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । गत बर्ष देखि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको भन्दै यो बर्ष पनि स्वास्थ्यका लागि वजेट छुट्टाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्