नेपाल पर्यटन वर्ष २०२० मा धनकुटामा ५ लाख पर्यटक भित्र्याइने

नेपाल पर्यटन वर्ष २०२० मा धनकुटामा ५ लाख पर्यटक भित्र्याइने

भेडेटार। सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२०मा धनकुटामा ५ लाख पर्यटक भित्र्याउने योजना बनाइएको छ । पर्यटन वर्ष २०२० सुरु हुन पाँच महिना बाँकी छ । समग्र मुलुकभर सन् २०२० को एक वर्षको अवधिमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ ।

त्यसको एक चौथाई आन्तरिक तथा बाह्य पर्यटक भने धनकुटामा भित्र्याउने लक्ष्यका साथ जिल्लाका पर्यटन व्यवसायी जुट्न थालेका छन् । जिल्लाको चर्चित पर्यटकीयस्थल भेडेटार, नाम्जे, डाँडाबजार, राजारानी, हिले, पाख्रिबास लगायतका स्थानमा पर्यटन वर्षलाई लक्षित गरी तयारी थालिएको छ ।

ब्यवसायीको उक्त कार्यमा धनकुटाका ७ स्थानिय तहको पनी समर्थन रहेको छ । धनकुटामा पाख्रीबास नगरपालिका, धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका गरी ३ नगरपालीका र साँगुरीगढी गाउँपालिका, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका,  छथर जोरपाटी गाउँपालिका,  चौबिसे गाउँपालिका गरी चार गाँउपालीका रहेका छन ।

ती स्थान भित्रिने मुख्यद्वार भेडेटारमा यसको तयारी द्रुत रूपमा थालिएको पर्यटन व्यवसायी विष्णुराज श्रेष्ठले बताए । ३० वर्षदेखि पर्यटन क्षेत्र तथा होटल व्यवसायमा जुटेका श्रेष्ठले पर्यटन वर्षलाई स्वागत गर्न आतुर रहेको बताए ।
हामी आगामी पाँच महिनाको पर्खाईमा पर्यटन वर्षलाई स्वागत गर्न लालायित छौं,’ उनले भने, अधिकतम पर्यटक भित्र्याउने लक्ष्यका साथ योजनाबद्ध रूपमा जुटेका छौं ।’ भेडेटार क्षेत्रमा सदावहार पर्यटक भित्रिने गरे पनि अधिकतम आगन्तुक भित्र्याउन विशेष आधार रहेको उनको दाबी छ ।

एसियाली विकास बैंकसँगको सहकार्यमा पर्यटन सम्बन्धी गतिविधि थालनी गर्न लागिएको उनले बताए । पर्यटनका पर्याप्त सम्भावना बोकेको स्थान भएकाले एडिबीले भेडेटारमा पर्यटनसम्बन्धी लगानी गर्न लागेको श्रेष्ठको भनाइ छ । ३ सय ५० करोडको लागतमा निर्माण भइरहेको रवि राँके इलाम, कन्याम पाँचथर सडकले पनि पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याएको उनी बताउँछन् । उक्त सडकको मुख्य विन्दु भेडेटारबाट अब ६ घण्टामा ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवीस्थल पुग्न सकिन्छ ।

होटल एसोसिएसन भेडेटारको अगुवाइमा पर्यटन वर्षमा पर्यटक आकर्षणका थप अभियान थालिएको संस्थाका निवर्तमान अध्यक्ष लीलाराज लावतीले बताए । उक्त अवधिमा भेडेटार भएर समग्र जिल्लामा ५ लाखभन्दा बढी पर्यटक भित्र्याइने लक्ष्य रहेको उनी बताउँछन् ।

उनका अनुसार निर्माणाधीन थाउजेन्ड बुद्धले देश विदेशका पर्यटक भित्र्याउन मद्दत पुग्नेछ । पर्यटन वर्षलाई मध्यनजर राखी भेडेटारमा सांस्कृतिक संस्था खोलिएको छ । जसमा विभिन्न सात जातजातिको वेशभूषा र गरगहना समावेश गरिएको छ । भेडेटार पुग्ने पर्यटकले ती पहिरन र गरगहना लगाएर तस्बिर खिच्ने व्यवस्था गरिएको छ ।

पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टले पर्यटन वर्षमा अधिकतम पर्यटक भित्र्याउन जुटेको बताए । प्रदेशस्तरीय पर्यटन वर्ष २०२० मनाउने बारे गठन गरेको समितिका सदस्य समेत रहेका विष्टले स्थानीय स्तरमा अझै यसबारे आवश्यक चासो जान नसकेको बताए । मन्त्री तथा मुख्य मन्त्रीसँग समेत बैठक बस्न बाँकी रहेको उनले जानकारी दिए । ‘पर्यटन वर्ष सफल पार्न समितिका पदाधिकारीबीच पटकपटक बैठक बसेर छलफल गरिएको छ,’ उनले भने, ‘समय नजिकिरहेकाले आवश्यक रणनीति तय गर्न हतारिरहेका छौं ।’

होमस्टे एसोसिएसन नाम्जेका अध्यक्ष तथा केन्द्रीय सदस्य अनिलकुमार राना पर्यटन वर्षमा नाम्जेमा मात्रै कम्तीमा ५ लाख भित्र्याउने दाबी गर्छन् । विश्व कै पुग्नै पर्ने गन्तव्यमा सूचीकृत नाम्जेमा दैनिकरूपमा आन्तरिक तथा बाह्य पर्यटक आउनु सामान्य बनेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्