पाँचथर जिल्लाका स्थानिय तहको पहिलो प्राथमिकता सडक निर्माण

पाँचथर जिल्लाका स्थानिय तहको पहिलो प्राथमिकता सडक निर्माण
पाँचथरको फिदिम नगरपालिका अन्तर्गत सगरखण्डे–यासोक ११ किलोमिटर सडक खण्ड कालोपत्रे गर्न बिहीबार डोजर स्टार्ट गरेर शिलान्यास गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ।

पाँचथर जिल्लामा स्थानीय तहमा जनप्रतिनिधि आएसँगै २ वर्षको अवधिमा सडक खन्ने क्रममले तीब्रता पाएको छ। एकिकृत रुपमा तथ्यांक नभए पनि जिल्लामा करिब ३ हजार किलोमिटर सडक सञ्जाल विस्तार भएको अनुमान छ।  स्थानीय तहमा जनप्रनिधि आएसँगै उनीहरुको पहिलो प्राथमिकता सडक निर्माण छ। जिल्लाका ८ वटा स्थानीय तह मध्ये अधिकांशले आफ्नै बजेटले जोडर किनेर सडक खनिरहेका छन्। प्रदेश सरकारले पनि सडक निर्माणलाई प्राथमिकतामा राखेको छ।

जिल्लामा १२ महिनानै गाडी चल्ने सडक भने थोरै छन्। सडकहरु प्राविधिक दृष्टिकोणले एकदमै कमजोर छन्। वर्षामा अधिका‌ंश सडक चल्दैनन्। प्राथमिकताको छनौट र आवश्यतालाई मध्यनजर गर्न नसक्दा सडकहरु प्राविधिक रुपमा उत्तम र गुणस्तरी बन्न नसकेको प्राविधिकहरु बताउँछन्। तत्कालीन जिल्ला प्राविधिक कार्यालयको तथ्यांक अनुसार जिल्लामा २ हजार ४ सय ४२ किलोमिटर ग्रामीण बनेको थियो। त्यस मध्ये मुस्किलले २ सय ५० किलोमिटरमामात्रै १२ महिना गाडी कुद्छन्।

यहाँका सात गाँउपालिका मध्ये याङवरकको केन्द्रमा मात्र नियमित गाडी पुग्छ। मध्यपहाडी लोकमार्गको कालोपत्रे भएकाले यो गाँउपालिकाको केन्द्रसम्म सडक पुगे पनि अन्यत्रको अवस्था उस्तै छ।

जिल्लामा आगामी २ वर्ष भित्र करिब १ सय ३५ किलो मिटर सडक कलोपत्रे हुने भएको छ । जिल्लामा ५ वटा महत्वपूर्ण सडकहरुको कालोपत्रेका लागि ठेक्का लागि सकेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्बोले बिहीबार प्राथमिकतामा रहेका तीनवटा सडकको शिलान्यास समेत गरेका छन। यी सडकहरु प्रदेश सरकार र संघीय सरकारको लगानीमा कालोपत्रे हुन् लागेका हुन्। मन्त्री आङ्बोले फिदिम–फालौट १० किलोमिटर, सगरखण्डे–यासोक ११ र शिवा–दोभान–लुम्फाबुङ करिब १४ किमी सडकको छुट्छुटै कार्यक्रममा शिलान्यास गरेका हुन्।

शिलान्यास भएको शिवा–दोभान–लुम्फाबुङ नवमिडाँडा सडक पहिलो चरणमा १३ दशमलव ९ किलोमिटर सडकमा कालोपत्रे हुने छ। ५९ करोड ३६ लाखको लागतमा सडक कालोपत्रे हुन लागेको हो। याक्थुङहाङ कान्छाराम जेभी निर्माण सेवाले ठेक्का पारेको छ। यो सडकले सदरमुकाम फिदिमलाई ग्रामीण क्षेत्रसँग जोड्ने छ। ११ किमीसगरखण्डे–यासोक सडक पनि कालोपत्रे हुने भएको छ। ५३ करोड ३३ लाख ६ हजार ४ सय ८१ रुपैंयाको लागतमा निर्माण हुने यो सडकले पाँचथरको व्यापारिक केन्द्र यासोक बजारलाई सदरमुकामसँग जोड्ने छ।

यसैगरी फिदिम–फालौट १० किलोमिटर सडक खण्डमा कालो पत्रे हुने भएको छ। कुल ५२ करोड ६७ लाख ३० हजार ८ सय १३ रुपैंया लागतमा सडक निर्माण हुन लागेको हो। बिहीबार शिल्यानस भएका तीनवटै सडक निर्माण सम्पन्न भए ग्रामीण क्षेत्रसम्म सदरमुकामसम्म आउजाउ सहज हुने छ।
यस बाहेक रवी–राके–भेडेटार सडक खण्ड अन्तर्गत पाँचथर जिल्लामामा ६४ किलोमिटर कालोपत्रे हुने छ। यहाँ काम सुरु भइसकेको छ। यसैगरी मायालु मोड–नवमीडाँडा १४ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लागि सकेको छ।

सल्लेरी–मुवा खोला सडक खण्डको साडे २४ किलोमिटरमा समेत कालोपत्रे हुन काम सुरु भइ सकेको छ। पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरमा १९ किलोमिटर सडक कालोपत्रे भएको छ भने ४२ किलोमिटर हुने क्रममा छ। यसैगरी पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरा सम्मको १४८ किलोमिटर बहुचर्चीत कोशी करिडोर पनि निर्माणका क्रममा छ। अब सडक बढाउने भन्दा पनि प्राथमिकतामा राखेर सडकहरु कालोपत्रे गर्ने काम सुरु भएको आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले वताए। उनको गृह जिल्ला पाँचथर नै हो।

प्रतिक्रिया दिनुहोस्