बिना कारण प्रक्राउ परे निमा लामा …..

बिना कारण प्रक्राउ परे निमा लामा …..

काठमाण्डौं/ नेपाल प्रहरीका पछिल्लो दिनमा भइरहेका काम कारबाहीहरुले विभिन्न खालका प्रश्नहरू खडा गरेको छ । यसको पछिल्लो उदाहरण हो निमा लामा प्रक्राउ प्रकरण । राजधानी काठमाण्डौमा गुण्डागर्दीबाट हप्ता असुल्ने धन्दामा सक्रिय रहेको आरोप लगाउँदै निमा लामा भन्ने राजेन्द्र लामालाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले हालै पक्राउ गर्यो। लामालाई काठमाडौंको कोटेश्वरबाट प्रहरी निरीक्षक एलिजा गिरीले मंगलबार बिहान पक्राउ गरेकी हुन् । लामाका हरेक अराजक र गैरकानूनी क्रियाकलापबाट आजित बनेका सर्वसाधारणहरूको उजुरीपछि निरीक्षक गिरीले पक्राउ गरेकी बताइएको छ । तर कतिपयले सिंगमको रुपमा महिला निरीक्षक गिरीको हिरोइजमको रुपमा लामाको गिरफ्तारीलाई हेर्न गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भएका लामाले बानेश्वर, कोटेश्वर र काडाघारी क्षेत्रका व्यवसायीहरूलाई डर, त्रास र धाकधम्की दिएर महिनावारी उठाउने गरेको उजुरी प्रहरीमा परेको थियो । यद्यपी यसमा वास्तविकता भने अहिलेसम्म बाहिर आएको छैन । उनीमाथि अन्य गंभीर अभियोग थियो कि थिएन भन्ने पनि बाहिर आएको छैन । लामाले महिनावारी नदिए मार्नेसम्मको धम्की दिंदै आएको भन्दै उजुरी परेको बताइएको छ । लामालाई प्रहरीले २०७२ चैत १० गते नेविसंघका नेताहरूलाई कुटपिट गरेको अभियोगमा मुद्धा चलाएको थियो । लामाले ०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल समेत परेका हुन तर उनलाई चिन्नेहरुका अनुसार त्यसपछि उनी सामान्य पारिवारीक जीवन विताउदै आएका छन् ।

विगतका दिनमा केही घटनामा संलग्न उनी हाल सामान्य जीवन बिताउँदै आएका थिए भने उनकी श्रीमति सामान्य व्यवसाय गरेर परिवारका सदस्यहरुको गुजारा चलाउँदै आएकोमा उनको गिरफ्तारीले अभियोग लागेका व्यक्तिहरु समाजमा पुनः स्थापित हुन पाउछन् कि पाउदैनन् भन्ने प्रश्न खडा भएको छ ।

खासगरी मुख्य अपराधीलाई समाप्त गरेर समाजमा शान्ति र अमन चयन कायम गर्ने मुख्य उद्धेश्य राखेका गृहमन्त्री रामबहादुर थापा र हालका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको नेतृत्वको उद्धेश्य भएपनि हिरोइजम देखाएर प्रचारमा रमाउने तल्लो तहका प्रहरी अधिकृतहरु निकै हावी भएको देखिन्छ ।

विशेष चमत्कारै गरेको झै लामाको गिरफ्तारीको मिडियामा प्रचार गरिंदा नेपाल प्रहरी खासगरी काम गर्नभन्दा पनि प्रचारमा लागेको छ कि भन्ने आशंका गर्नुपर्ने अवस्था आएको छ । लामाका परिवारका सदस्यलाई समेत ज्यादती गर्ने र मानसिक तनाव दिलाउने काम भइरहेको परिवारका ससदस्यहरुले गुनासो गरेका छन् ।

नेपाल प्रहरीले सामुदायिक प्रहरीको भूमिका निर्वाह गर्न नसकेको, प्रहरीले अपराध अनुसन्धान गरेर अदालतमा बुझाउने र त्यसको छिनोफानो अदालतले गर्ने विधिशास्त्रीय व्यवस्था भएपनि प्रहरी आफ्नै कारबाही अन्तिम निर्णय हो भने झै गरी अघि बढीरहेको छ ।

अभियोगको अनुसन्धान नसकिउन्जेल प्रचार गर्न नमिल्ने सामान्य मर्मलाई समेत लत्याएर अपराधीकरण गरिनु दोषीलाई सामाजिकीकरण गरी समाजमा स्थापित गर्ने काममा प्रहरी नै बाधक हो कि भनेर शंका गर्नुपर्ने अवस्था आएको छ ।

गत वर्ष मात्रै कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले अपराधीलाई सुधारी समाजमा पुनःस्थापनाको नीति अंगालेको भएतापनि प्रहरीको व्यवहार र शैलीले सामान्य अभियोगमा फसाइएको व्यक्तिलाई समेत डाकाको हैसियत दिने काम भईरहेको छ ।

फौज्दारी संहिता, २०७४ को दफा १२ मा कानुनले कसूर नमानेको कुनै काम गरेवापत कसैलाई सजाय नगरिने तथा दफा ८ मा तथ्यको भ्रममा परी कसैलाई पनि सजाय नगरिने व्यवस्था छ ।

निमा लामा पक्राउ प्रकरण

कानुनको राज,विधिको शासन र न्यायपूर्ण व्यवस्था नै जनताले खोजेका हुन। संसदीय प्रणालीमा हुर्केका राजनैतिक दलहरुमा सामाजिक अपराध गर्ने तप्काको जब हात र साथ हुन्छ तब कानुनी प्रणालीको उपहास भईरहन्छ्न। कानुनी सर्वोच्चतामाथि निरन्तर प्रश्न उठिरहन्छ ।

भर्खरै केही हप्ता अघि ग श्रेणिको गुन्डा नाईके कोटेश्वर प्रहरीद्वारा पक्राउ यो त्यो भनेर विभिन्न सञ्चार माध्यममा हेडलाइन देखियो । एकजना पत्रकार बताउने ब्यक्ती सङ्ग वैदेशिक कार्यक्रममा सहभागी हुने विषयमा आफ्नो श्रीमति संगको लेनदेनको विवादमा तानिए लामा ।

आर्थिक कारोबार एकअर्का बिच जुन प्रयोजनका निम्ति लामाकी श्रीमतिसङ्ग ती पत्रकारले पैसा लिएको हो, काम नभएपछि सम्बन्धित ब्यक्तिको पैसा फिर्ता दिनुपर्दैन ? कुन मुलुकी ऐन,कानुनमा लेखिएको छ, पत्रकार भएको कारणले अरु सङ्ग लिएको रकम फिर्ता गर्नुपर्दैन भनेर, अनि प्रहरीले पनि ती पत्रकार सङ्ग सोधपुछ गर्नुपर्दैन ? अनुसन्धानको घेरामा राख्नुपर्दैन ? विदेश पठाउने बहानामा ती पत्रकारले पैसा लिएको रहेछ, के थाहा ती व्यक्ति पत्रकारको खोल ओढेर मानवतस्कर पो गर्छन कि ? यस्ता ब्यक्तीहरुलाई चिन्न नसक्नुमा सो घटनामा प्रहरी पूर्वाग्रही ढंगले लागेको देखिन्छ ।

श्रीमतिले आफ्नो श्रीमानसंग सहायता माग्दा र ती व्यक्तिसंग सामन्य विवाद हुँदा उल्टो मुद्दा,लान्छना लाग्नु निन्दनीय र खेदजनक छ । कारण घटना एउटा र निजको श्रीमानको विगतलाई फाईदाको हिसाबले हेर्नू मुर्खता थियो। बिगतको लामाको गतिविधिको विषयलाई लिएर सञ्चारमाध्यममा फेरि रङ्गिए निमा, गज्जबको मसला पाएका थिए कोटेश्वर प्रहरी र केही अनलाइन पत्रकारहरुले ।
अझ केही अनलाइनहरुमा लेखिएको थियो, सुन्दरी कोटेश्वर प्रहरी प्रमुख एलिजा गिरि द्वारा ग श्रेणिको नाईके रङ्गेहात पक्राउ ,अचम्म लाग्दो कुरा त के छ भने गहिराई नबुझी न प्रहरीले गिरफ्तार गर्न मिल्छ न मिडियाले कसैको चरीत्र हत्या गर्न मिल्छ ?

घटना के थियो? र कोसङ्ग सम्बन्धित थियो भन्ने विषयलाई मिहिन ढङ्गले अध्ययन नगरी पक्राउ गर्नु लोकतन्त्रको उपहास हो । धेरै घटनाक्रमलाई नियाल्ने हो भने आम जनताले प्रहरी प्रतिको विस्वासनियतामा नै प्रश्न चिन्ह उठाएका छ्न ।

आज एलिजा गिरि जस्तो प्रहरी अधिकृत मात्र होइन, नेपाल प्रहरीमा धेरै अधिकृतहरुलाई देवता बन्ने भुत चढेको देखिन्छ। भन्नलाई ूमुस्कान सहित को प्रहरी,जनतासंग हाम्रो साझेदारीू यस्ता धेरै नारा छन् जुन नारामै सिमित छन् ।

प्रहरीको दादागिरी, कानुनको गलत प्रयोगले समाजमा धेरै अपराध बढिरहेको विज्ञहरु बताउँछन् । नेतालाई र तिनका आसेपासेहरुको सुरक्षामा मात्र प्रहरी तैनाथ छ भन्ने जनतामा भ्रम छ जुन भ्रमलाई चिर्न नसक्नु प्रहरी प्रधान कार्यलयको कमजोरी पक्ष देखिन्छ। बर्दिवालाहरु नै क श्रेणीको गुन्डा हुन भन्छ्न केही बुद्धिजीवी भनाउँदाहरु।

यसो झट्ट हेर्दा र केही घटनाहरुलाई सुक्ष्म ढ्ङ्गले अध्ययन गर्ने हो भने बालुवाटार बेच्ने भुमाफियाहरु, सुन तस्करी, हतियार कारोबारिहरु, लागुऔषध कारोबारीहरु, हत्याराहरु, निर्मला पन्तका जस्ता बलात्कारीहरुले उन्मुक्ति पाउँदा यो मुलुकको प्रशासन प्रती जनताले औंला उठाउन स्वाभाविक नै हो। निमा लामाहरु पक्राउ पर्नु त देखाउने दात मात्र हो,चपाउनेहरुको अगाडी।

हामीलाई यो लेख लेखिरहँदा अपराधलाई पक्ष पोषण गर्न खोजेको होइन, खबरदारी कहाँ नेर हो भने बिगतमा गरिएका अपराधहरु न्यायालयबाट सफाई पाएर सर्वसाधरणको जिन्दगी व्यतित गरिरहेका ब्यक्तिहरु जो कोहि हुन । पटकपटक अनावश्यक धरकपड गर्ने,दुख दिने,अरुको अपराध पनि जबर्जस्त स्वीकार गर्न लगाउने,अझ रोचक कुरा त के भने कुनै पनि प्रहरी प्रखुम सरुवा भएर एक ठाउँ बाट अर्को ठाउँमा जाँदा गजेडिहरु समाउने अनि ठूलो माछा हात पारै झैं मिडियाबाजि गरी सेलिब्रेटी बन्ने होडबाजीनै चलेको छ।

अझ भनौ साधरण युवाहरु सामन्य झगडामा पक्राउ परे भने पनि मिडियाले ठुलो तस्कर गुन्डा बनाईरहेको हुन्छ, यो किन के का लागि ? के सबै पत्रकारहरु दुधले नुहाएका छ्न त ? राष्ट्रको चौथो अङ्ग भन्ने पत्रकारहरुलाई गहिराई नबुझी अरुको चरीत्र हत्या गर्ने अधिकार छ ? स्वतन्त्र पत्रकार भन्नेहरु आज राजनीतिक दलको झण्डामुनि गोलबन्द छन् यो हामीले देखेका छौं ?

इटहरीको मेयर द्वारिकालाल चौधरीले पत्रुकार र चाटुकार तेसै कहाँ भनेका रहेछ्न त? कारण यस्तै हावादारी समाचार सम्प्रेषण। सत्यतथ्य नबुझी घट्नाको तोडमोड। वाह हाम्रो नेपाली मिडिया । यस्तै भए हाम्रो समाज कुन दिशा तर्फ जाँदै छ भनेर बुझ्ने ? अपराधले अपराध नै जन्माउँछ भन्छन अपराध अध्ययनकर्ताहरु।

विद्वान प्रहरी अधिकृतहरु, पत्रकारहरु ,रत्नाकर डाकु पनि वाल्मीकि बनेका थिएु, सभ्य समतामुलक समाज निर्माण गर्ने हो भने अपराधमा लागेकाहरु पनि सच्चिनु जरुरि छ अनि राज्यको अपराध नियन्त्रणमा बसेकाहरुले पनि ठाउँ ठाउँमा जनचेतनामुलुक कार्यक्रम गर्ने र ती ब्यक्तिहरुलाई पनि समाजप्रति उत्तरदायी बनाई अघि बढाउनुपर्छ।

राजनैतिक दलहरुले हामी शान्ति सुरक्षा,अमन चयनको वातावरण बनाउछौं भन्छन त्यो आँफैमा हास्यास्पद जस्तो लाग्छ ,राजनैतिक अपराध नै सामाजिक अपराधको जन्मदाता हो ? राजनैतिक अपराध आफैमा विनाशकारी छ। एउटा पार्टीको संरक्षणमा रहेको गुण्डा अर्को पार्टीको सरकार भए पनि समातिने बित्तिकै छुट्छ, यो कुनै राजनैतिक दवाबको कारण होइन, यो केबल राजनीति भित्र संरक्षण पालो पैचो मात्र हो ।

राजनीतिको आवरणमा अपराध गर्ने अपराधीको खुल्ला समर्थनमा संसदको रोष्टम घेराउ हुन्छ, त्यो अपराधी किन मारियो अनि किन समातियो ? कानुनले कसैलाई मार्ने अनुमति दिएको छैन भन्दै घोक्रो फुलाउँछन् हाम्रा नेताहरु। किन यति सार्है संरक्षण हुन्छ त राजनीतिको आवरणमा अपराध गर्नेहरुको ? राज्यले ठुलै सफलता प्राप्त गरे झैं अपराधीको इन्काउन्टर गरियो भन्छ, वास्तवमा सुक्ष्म विश्लेषण गरेर हेर्ने हो भने राज्यका कारण त्यो गुण्डा नाइके मरिएको हुँदैन, त्यो मारिएको पार्टी भित्र गुट सन्तुलन नमिल्दा उनीहरुको प्राण पखेरो उढेको मात्र हो ।

कान्तिपथ विश्लेषक

प्रतिक्रिया दिनुहोस्