ओलम्पिक टर्च लाईट लुम्बिनीमा

ओलम्पिक टर्च लाईट लुम्बिनीमा

काठमाण्डौँ – आठौं राष्ट्रिय खेलकुदको उदघाटनका क्रममा प्रज्वलन गरिने ओलम्पिक टर्च बुद्धजन्मस्थल लुम्बिनी आई पुगेको छ । प्रदेश नम्बर १ को बिराटनगर बाट चैत्र २९ गते ओलम्पिक टर्च यात्रा सुरु भएको थियो । बिराटनगरमा यस अघि राष्ट्रिय खेलकुदको सातौ सस्करण आयोजना भएको थियो । बिराटनगरबाट टर्च लिएर हिडेका चार जना ओलम्पियनहरु जीतबहादुर केसी, डम्बर कुँवर,, विकास राना मगर र मेनुका राउत सोमबार लुम्बिनी आईपुगेका हुन् । 

चारै जना ओलम्पियनहरुले बुद्धजन्मस्थल लुम्बिनीमा रहेको बिश्वशान्ति दीपको ज्योति ओलम्पिक टर्चमा प्रज्वलीत गर्दै  लुम्बिनी क्षेत्र परिक्रमा गरी गन्तब्य तर्फ प्रस्थान गरेका थिए । यस अघि राष्ट्रिय खेलकुद प्रतियोगिताको धनगढीमा सम्पन्न छैठौ सस्करणमा पनि बैकुन्ठ मानन्धर सहितका ५ ओलम्पियनहरुले शान्ति दीपको ज्योति धनगढी सम्म पुरयाएका थिए ।

लुम्बिनीबाट शान्ति दीप ज्योति सहितको ओलम्पिक टर्च बोकेर ओलम्पीयनहरु ५ गते प्रदेश नम्बर पाँचको नेपालगन्जमा हुने आठौ राष्ट्रिय खेलकुदको उदघाटन स्थलमा पुग्नेछन् । उक्त टर्चलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्दै त्यहा रहेको ज्योतिमा प्रज्वलित गरेपछि आठौ राष्ट्रिय खेलकुदको विधिवत सुरुवात हुने राष्ट्रिय खेलकुदको प्रचार प्रसार उप समितिका संयोजक रोहित दाहालले बताए ।

यसअघि ओलम्पिक टर्च प्रदेश १ को बिराटनगर, २ को जनकपुर, ३ को हेटौडा, चितवन, प्रदेश ४ को पोखरा, ५ को लुम्बिनी, भैरहवा, बुटवल पुगेको थियो । अब टर्च प्रदेश ६ को सुर्खेत , प्रदेश ७ को धनगढी हुदै ५ गते नेपालगन्ज पुग्ने छ  । ओलम्पिक टर्च लाईट सातै प्रदेशका राजधानी तथा मुखय शहरमा परीक्रमा गराईरहीएको छ ।

प्रतिक्रिया दिनुहोस्