नयाँ वर्ष र जुडशीतल

नयाँ वर्ष र जुडशीतल

२०७५ साल बिदा लिदैछ भने २०७६ सालको आगमन भैरहेको छ। २०७६साल हामी सबैमा सुख, शान्ति र समृद्धि लाओस भने शुभकामना छ। २०७६ सालमा सम्पूर्ण नेपालीको उत्तरोत्तर शुभकामना छ। नयाँ साल सुस्वास्थ,दीर्घायु,मित्रता,विश्वास ,आस्था र भरोसाको सुवास लिएर आओस् भन्ने कामना छ।

वैशाख सन्क्रातिलाइ मधेसमा पर्वको रूपमा मनाइने गरिन्छ । एउटा नयाँ वर्ष र अर्को सतुवाइन भनेर । मधेसका हरेक रितिरिवाज र चाडपर्व प्रकृति सँग जोडिएको छ। त्यस्तै, सतुवाइन पर्वको पनि विशेष नाता प्रकृति सँग रहेको छ। य‍ो पर्वको दिन मधेसमा सबै जनाले टिकुला (आँपको शुरूवाती स्टेज) चनाको सातु,सख्खर सँग खाने चलन छ। भनिन्छ यो दिन सातु खानाले आफ्नो कोई शत्रु हुदैन भन्ने विश्वास रहिआएको छ। शत्रुको नाश हुन्छ । खेतबाट भर्खरै भित्राइएको चनाक‍ो सातु बनाएर खाँदा अनुपम संवाद भेटिन्छ । गर्मीमा यसको सेवनले पेटलाई शितलता प्रदान गर्छ र ग्याश फरमेशनमा कमी ल्याउँछ ।

सतुवाइनको भ‍ोलिपल्टक‍ो दिनलाई जुडशितल भनिन्छ । यो पर्वमा घरका बुजुर्गले पुजा घरमा राखेको बाँसी पानी हत्केलामा राखी आफुभन्दा सानोको टाउक‍ोमा राखी जुडाउने चलन छ।जसलाई आशीर्वादक‍ो रूपमा लिइन्छ । आफुलाई ठुलाबडाले जुडाए पछि चरण स्पर्श गरि आशिर्वाद लिने गरिन्छ । यश पर्वमा ठुलाबडालेआफन्तको घरमा पुगी समेत जुडाउने गर्छन् ।
जुडशीतलको दिन सतुवाइनको राति पकाइएको भात,बडी (विशेष परिकार) ,सोहिजनमको तरकारी,तरूवा र दही खाने चलन छ। जुडशीतलको बिहान चुलोचौकालाई सफा गरी पुजा गरिन्छ। बिहान यो पर्वमा पानी छ्यापेर एक अर्को संग रमाइलो गरिन्छ। होली रंग छ्यापेर खेलिन्छ भने यो पर्व पानी छ्यापेर खेलिन्छ। गर्मीमा चिसो पानी एकले अर्कालाई छ्यापेर खेल्दा अति आनन्दको महसुस हुन्छ। यसरी मधेसमा वैशाख १ लाई सतुवाइन र २ लाई जुडशीतल पर्वको रूपमा मनाइन्छ।

( सुधा मिश्र जी, नयाँपुलको लागि नियमित विभिन्न प्रकारका लेख रचना लगायतका सामग्रीहरु तयार पार्ने गर्नुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्