स्मार्ट सिटीको कुरा गर्नु अघि, दिसा पिसाबको राम्रो व्यवस्थापन गरौं : प्रमुख झा

स्मार्ट सिटीको कुरा गर्नु अघि, दिसा पिसाबको राम्रो व्यवस्थापन गरौं : प्रमुख झा

चैत्र २८, काठमाडौं । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव तथा खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको वातावरणिय शाखाका प्रमुख ई. देवेन्द्र कुमार झाले काठमाडौं महानगरपालिकालाई स्मार्ट सिटी बनाउने कुरा गर्नु भन्दा अघि दिसापिसाब चाहि राम्रोसँग व्यवस्थापन गर्न आग्रह गरेका छन् । आज काठमाडौं शंखरापुर नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्ने समारोहमा प्रमुख झा ले भने, दिसापिसाबको उचित व्यवस्थापन नगरेसम्म काठमाडौं, स्मार्ट सिटी हुनै सक्दैनन् त्यसैले महानगरको ध्यान त्यसतर्फ जानु पर्दछ ।
जनसंख्याको अत्याधिक चाप रहेको संघीय राजधानी काठमाडौंमा सार्वजनिक शौचालयहरु विरलै भेटिन्छन् । त्यसैकारण सडक र कुना काप्चामा दिसापिसाब देखिनु काठमाडौंवासीको लागि खासै नौलो विषय होइन ।


शंखरापुर नगरका कुल ५ हजार ४ सय ६ घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएपछि जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) ले अनुगमन गरि शंखरापुरलाई खुल्ला दिसामुक्त घोषणा गर्न सिफारिस गरेकोले आज नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले खुल्ला दिसामुक्त घोषणा समारोहको आयोजना गरि नगरलाई खुल्ला दिसामुक्त घोषणा गरेको हो ।

आज आयोजित खुला दिसामुक्त घोषणा समारोहकी प्रमुख अतिथी एवं संघीय संसदका सांसद सरिता न्यौपान र डिवाससीसी काठमाडौका अध्यक्ष शिवसुन्दर राजबैद्यले काठमाडौंलाई छिट्टै खुल्ला दिसामुक्त घोषणा गर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्