दार्जिलिङवासीको भोट माग्ने मोदीको नयाँ सूत्र

दार्जिलिङवासीको भोट माग्ने मोदीको नयाँ सूत्र

काठमाडौं – छिमेकी मुलुक भारतमा भोलि (बिहीबार)देखि लोकसभाको चुनाव हुँदैछ । ७ चरणमा हुने चुनाव आगामी जेठ ५ गते सकिनेछ । यो चुनावको चर्चा भारतमा मात्र होइन छिमेकी राष्ट्र र ठूलो अर्थतन्त्र भएका मुलुकमा पनि बढेको छ । यसको चर्चा नेपालमा नहुने त कुरै भएन । त्यसमा पनि नेपाली भाषी बसोबास गरेको क्षेत्र दाजिलिङ र सिक्किममा हुने चुनावी गतिविधिले धेरेको ध्यान खिचेको छ ।

चुनावी मैदानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धी देश दौडाहामा छन् । यो चुनावमा नेपाली भाषीको धेरै जनसंख्या भएको भारतको दार्जिलिङमा सरगर्मी निकै बढिसकेको छ । केन्द्रबाट प्रधानमन्त्री नरेन्द्र मोदी पश्चिमबंगालमा आएर भाषण गरिसकेका छन् भने कांग्रेस आईका राहुल गान्धी पनि यसै साता दार्जिलिङ पुग्दैछन् ।

तृणमुल कांग्रेसकी प्रमुख तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी पनि चुनावी अभियानमा दार्जिलिङबासीको मत तान्ने विभिन्न आश्वासन बाँडिरहेकी छिन् । हाल दार्जिलिङमा भारतीय मुख्य राजनीतिक दलका नेताको बक्लो उपस्थिति छ। उनीहरु दार्जिलिङबासीलाई रिझाउन घरदैलो कार्याक्रममा व्यस्त छन् ।

मोदीको भाषण मतका लागि मात्र?

आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिमबंगालको एक कार्याक्रममा भाषण गर्ने क्रममा बंगाल सरकारले नेपाली भाषी नागरिकमाथि अन्याय र विश्वासघात गरेको बताएका थिए । मोदीको उक्त भाषणलाई दार्जिलिङको मत आकर्षण गर्नेका लागिमात्र भएको विपक्षीय पार्टीका नेताले आरोप लगाउन थालेका छन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले मोदीले दार्जिलिङ र अन्य देशबाट आएर भारतमा बसोबास गरेका जनतालाई भडकाउन खोजेको एक रोडियो अर्न्तवार्तामा बताएकी छिन् । प्रधानमन्त्री मोदी र मुख्यमन्त्री बेनर्जीको दोहारो आरोपप्रत्यारोप पछि दार्जिलिङको चुनावलाई भारतीय सञ्चारमाध्यमले महत्वदिएर समाचार सम्प्रेरण गर्न थालेका छन् ।

दार्जिलिङवासी छुटै राज्यगोर्खाल्याडको मागसहित गरेको आन्दोलनको सम्बोधन हुने खालको नेतृत्व छान्ने गरी आफ्नो मत जाने गोरखा जनमुक्ति मोर्चा (गोजमुमो)का महासचिव रोशन गिरीले बताए । केन्द्रीय सरकारले गोर्खाल्याडका लागि भएको आन्दोलनलाई अहिलेसम्म वास्तनगरी बसेको महासचिवगिरीले बताए ।

उनले भने, ‘यो लोकसभाको निर्वाचनबाट दार्जिलिङवासीले गोर्खाल्याड राज्यको आवश्यकता महसुस गरेको सन्देश दिदै छन् । यति धेरै नेपालीभाषीहरुको बसोवास रहेको दार्जिलिङलाई अन्यस्थानसँग समेटेर छिटै गोर्खाल्याड राज्य हुनुपर्छ । यो दार्जिलिङका नागरिकको अधिकारमाथि मतभेद भइरहेको छ।’

पश्चिमबंगाल विधानसभा निर्वाचन होस् या लोकसभा, गोर्खाल्यान्ड दलहरूको चुनावी एजेन्डा बन्ने गर्छ । भारतमा जब विधानसभाको निर्वाचन आउँछ । त्यसबेला भारतीय प्रमुख राजनीतिक दलको नजर भोट बैकका रुपमा दार्जिलिङमा केन्द्रित हुन्छ । अनि चुनावी एजेन्डाकै लागि भएपनि गोर्खाल्यान्डको मुद्दा उठ्ने गरेको छ ।

त्यसो त भारतीय सत्तारुढ दल भाजपाले आफ्नो चुनावी घोषणापत्र जारी गर्दै दार्जिलिङ, सिक्किम, डुवर्स क्षेत्रमा बसोबास गर्ने विभिन्न ११ जातजातिलाई जनजातिमा सूचिकृत गर्ने घोषणा गरेको छ । विगतमा मत ल्याउनका लागि मात्र यस्तो प्रतिबद्धता गर्ने भएकाले अहिले पनि मोदीले दार्जिलिङबासीका लागि भोट तान्ने फन्डा मात्रै चलाएको त हैन भन्ने प्रश्न उठेको छ ।

नेपालीभाषी बीच नै प्रतिस्पर्धा

यो पटकको निर्वाचनमा दार्जिलिङमा भारतीय जनता पार्टी र तृणमूल कांग्रेसबीच निक्कै कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुको आँकलन छ । १७ लाख नेपाली भाषी रहेको यो क्षेत्रबाट लोकसभा निर्वाचनमा विभिन्न केन्द्रीय र क्षेत्रीय दलसम्बद्ध उम्मेदवार चुनावी मैदानमा छन् । निर्दलीय उम्मेदवार एवं प्राज्ञिक व्यक्तित्व महेन्द्र पी लामा, माकपाका सुमन पाठक, गोर्खा राष्ट्रिय कांग्रेसका नीमा लामा र तृणमूलका भाइचुङ भुटिया चुनावी दौडमा छन् ।

भाजपा उम्मेदवार राजु विष्ट अनि टीएमसीका अमरसिंह दुवै पछिल्लो समयमा राजनीतिमा खासै सक्रिय नभएपनि पार्टीले टिकट दिएको छ । तथापि अमरसिंह राई गोजमुमोमा शुरुदेखि नै छन् । पहिला उनी गोजमुमो संस्थापक अध्यक्ष विमल गुरुङसँगै थिए । अहिले वर्तमान गोजमुमो अध्यक्ष विनय तामाङसँग नजिक छन् ।

दार्जिलिङमा गोर्खा राष्ट्रिय मुक्तिमोर्चा (गोरामुमो) र गोर्खा जनमुक्ति मोर्चा (गोजमो) जस्ता नेपालीभाषीका क्षेत्रीय दलहरु छन् ।

प्रतिक्रिया दिनुहोस्