आईपीएल क्रिकेट: कोलकत्तामाथि चेन्नाईको सहज जित

आईपीएल क्रिकेट: कोलकत्तामाथि चेन्नाईको सहज जित

काठमाडौं – चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्तना नाइट राइडर्सलाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा चेन्नाईले कोलकत्तामाथि ७ विकेटको सहज जित हात पारेको हो । १०९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले १७.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

चेन्नाईको जितमा फाफ् डु प्लेसिसले अविजित ४३ रन बनाए । त्यस्तै, आम्बती रयडुले २१ रन बनाउँदा शेन वाटसनले १७ रनको योगदान दिए । बलिङतर्फ कोलकत्ताका सुनिल नारिनेले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । खराब सुरुवात गरेको कोलकत्ताका अग्रपंक्तिका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।

कोलकत्ताका आन्द्रे रुसेलले पारी उकास्ने कोशिस गरेका थिए । उनले ४४ बलमा अविजित ५० रन बनाएका थिए ।

बलिङतर्फ दिपक चाहरले तीन विकेट लिए । त्यस्तै, हर्भजन सिंह र इमरान ताहिरले समान २–२ विकेट लिए ।

जितसँगै चेन्नाई लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाईले ६ खेलबाट पाँच खेलमा जित र एक खेलमा हार ब्यहोर्दै लिगको शीर्ष स्थानमा पुगेको हो। त्यस्तै पराजित कोलकत्ता लिगको दोस्रो स्थानमा छ । उसको ८ अंक छ ।

प्रतिक्रिया दिनुहोस्