पब्जी गेमले बालबालिकालाई हिंस्रक बनाउँदै, नेपालमा पनि प्रतिबन्धको तयारी

पब्जी गेमले बालबालिकालाई हिंस्रक बनाउँदै, नेपालमा पनि प्रतिबन्धको तयारी

धरानका १० वर्षीय विशाल राई (नाम परिवर्तन) आजभोलि विद्यालय जानै मान्दैनन् । विद्यालय गयो कि उनलाई शौच आउँछ र प्रत्येक घण्टा शौच गर्नका लागि उनी शौचालय पुग्छन् । तर, जब घर आएर मोबाइल चलाउन पाउँछन्, उनलाई न शौच आउँछ न त अन्य टेन्सन नै मोबाइलमा गेम खेल्न पाए उनलाई सबै चिन्ताबाट मुक्ति मिल्छ ।

तीनकुने काठमाडौँकी ११ वर्षीय सन्ध्या पौडेल (नाम परिवर्तन) पनि अधिकांश समय मोबाइलमै रमाउँछिन् । मोबाइलमा गेम खेल्न पाएपछि उनी सबै कुरा बिर्सिन्छिन् । गेम नखेल वा मोबाइल नचलाऊ भनेर कसैले भन्यो भने उनी ती व्यक्तिलाई थुक्ने, पिट्ने वा जे भेट्यो त्यसैले पिट्ने गर्छिन् ।

यी दुई प्रतिनिधि घटना मात्रै हुन् । अचेल अधिकांश घरमा मोबाइल प्रयोगका कारण बालबालिकामा परेको असर हो यो । र, यो समस्या यी दुई घरमा मात्रै भएको पनि होइन । प्रत्येक घर परिवारमा यही वा यस्तै समस्याहरु देखिन थालेका छन् ।

मोबाइलमा हुने गेम अर्थात् खेलका कारण बालबालिकाहरु पारिवार र समाजबाट टाढा मात्रै भइरहेका छैनन्, उनीहरु एकाग्र, हिंस्रक र उदण्डसमेत बनिरहेका छन् ।

पब्जीले बढाउँदैछ खतरा

तपाईंले आफ्नै घर वा छिमेकमा बच्चा वा ठूला मान्छेहरु पनि ‘हान हान, मार मार’ ऊ त्यहाँ लुकेको छ भन्दै कराएको सुन्नुभएको होला । बाहिर सुन्दा पागल भयो कि क्या हो भनेजस्तो लागेपनि वास्तवमा उनीहरु खेल खेलिरहेका हुन्छन् ।

अहिले कम्प्युटर वा मोबाइलमा एउटा खेल निकै लोकप्रिय बनिरहेको छ । प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड अर्थात् पब्जी ।

यो गेममा खेलाडीहरु एउटा टापुमा हुन्छन् । एउटा टिममा अधिकतम ४ जना ‘लडाकु’ हुन्छन् र टापुमा रहेका बाँकी ९६ जना लडाकुहरुलाई मार्नुपर्ने हुन्छ । टापुमा रहेका सबै ‘शत्रु’लाई मार्न सकेमा त्यो खेलाडी विजयी हुन्छ ।

यो खेलमा बन्दुकबाट गोली हान्ने, बम हान्ने र आगोको लप्का फाल्ने काम गर्नुपर्छ । अनि सबैलाई मारेर आफू विजयी बन्नुपर्छ ।

हो, यही गेम हो पब्जी । जसले यतिबेला विश्वमै तहल्का मिचेको छ र धेरैको कम्प्युटर वा मोबाइलमा यही गेम डाउनलोड भएको छ । अनलाइनमा मात्रै खेल्न मिल्ने यो गेमको ‘एडिक्सन’ यति बढेको छ कि कतिपय बालबालिका तथा युवाहरु मध्यरातमा पनि हान हान र ठोक ठोक भनिरहेका हुन्छन् ।

पब्जीले बालबालिकालाई हिंस्रक बनाइरहेको छ : बासु आचार्य, मनोविश्लेषक

मनोचिकित्सक बासु आचार्यलाई केही महिनाअघि धरानबाट एउटा फोन आयो । आफ्नो छोरा एकोहोरो भएको र विद्यालय जानै नमान्ने भएको भन्दै सम्पर्क गरेका थिए विशाल राईका परिवारले ।

पेशाले विशालका बुवा नेपाल सरकारको उपसचिव छन् भने आमा प्राइभेट बैंकमा जागिर गर्छिन् । उनीहरु दुबैजना आफ्नै काममा बिजी रहन्थे । छोरा विशाल भने अधिकांश समय आमा वा बुवाको मोबाइलमा बिजी भइरहन्थे ।

पछिल्लो समय विशाललाई एउटा समस्या देखा पर्यो । विद्यालय गयो कि आधा वा एक घण्टामा दिसा लाग्ने । तर विद्यालय गएन र घरमै मोबाइल खेलेर बस्यो भने सबै ठीक हुने । समस्या बढ्दै गएपछि परिवारले राम्रो अस्पतालहरुमा लगेर जचाए । तर डाक्टरले केही रोग नभएको भन्दै फिर्ता पठाइदिए । हैरान भएपछि ती अभिभावक मनोचिकित्सक बासु आचार्यकोमा पुगे ।

मनोचिकित्सकले जब घटना बुझे, उनी आफै छक्क परे । विशाललाई त पब्जीको एडिक्सन भइसकेको रहेछ । उनी अधिकांश समय मोबाइलमा पब्जी गेम खेल्दा रहेछन् । जसका कारण उनलाई मानसिक समस्या सुरु भएको रहेछ ।

विद्यालयमा रहँदा वा बस्दा दिमागमा पब्जीको मात्रै याद आउँदो रहेछ । अनि उनलाई दिसा लाग्दो रहेछ । प्रत्येक आधा वा एक घण्टामा दिसा लाग्ने र थोरै मात्रै दिसा आउने भएछ ।

जब विशाललाई काउन्सिलिङ गर्न थालियो र अन्य खेल वा विषयमा बढी केन्द्रीत गर्न थालियो अहिले भने बिस्तारै विशालको समस्या कम हुन थालेको छ ।

केही दिनअघि मात्रै तीनकुनेकी सन्ध्या पौडेल पनि आफ्ना अभिभावकसँग आचार्यको क्लिनिकमा आइपुगिन् । उनको समस्या पनि उस्तै थियो । मोबाइलमा गेम खेल्न पाए सबै ठीक हुने । खेल नखेल भन्यो भने बुवा वा आमालाई थुक्ने, गाली गर्ने, अगाडि जे देख्यो त्यसैले हान्ने गर्न थालिन् । हैरान भएपछि अभिभावकले उनलाई उपचारका लागि त्यहाँ ल्याएका थिए ।

यी घटनाहरुले के बुझाउँदैछ भने बालबालिकाहरु गेमका कारण हिंस्रक बन्दै छन् र उनीहरुमा मानसिक समस्या पनि बढ्दै गएको छ ।

मनोविश्लेषक आचार्यका अनुसार पब्जी जस्तो हतियार र हत्या गर्ने खेलले बालबालिकालाई हिंस्रक, उदण्ड र आक्रामक बनाइरहेको छ । यो गेम खेल्नेहरु दिनानुदिन संवेदनाहीन बन्दै छन् । मानिसहरु मर्दा वा मारिँदा पनि उनीहरुमा खासै फरक पर्दैन र पार्दैन । जब ती बालबालिकाहरु १४ वर्ष कट्न थाल्छन्, त्यसपछि उनीहरु उदण्ड र हिंस्रक बन्न थाल्छन् । त्यसपछि घरका सदस्यलाई पनि जे भेट्यो त्यसैले आक्रमण गर्न सक्ने अवस्थामा पनि पुग्छन् । जब यसको एडिक्सन सुरु हुन्छ, त्यसपछि बालबालिका ‘आउट अफ कन्ट्रोल’ हुन थाल्छन् ।

गेमको एडिक्सन रोक्न के गर्ने ?

बालबालिकालाई पब्जी वा पब्जीजस्ता खेलको लत बस्न नदिन परिवारको भूमिका महत्वपूर्ण हुन्छ । बालबालिकाले मोबाइल वा कम्प्युटरमा के खेल खेल्दैछन्, के गर्दैछन् भनेर अभिभावक सचेत हुनुपर्छ । यदि बालबालिका यसको लतमा लागिसकेका छन् भने बिस्तारै उनीहरुलाई त्यस खेलबाट बाहिर ल्याउनपर्दछ । उनीहरुलाई नखेल मात्रै भनियो र कुनै कुरा खेल्नै दिइएन भने उनीहरु झनै हिंस्रक बन्न सक्छन् । त्यसकारण उनीहरुलाई अर्को विकल्प (खेल वा अन्य मनोरञ्जन) दिएर बिस्तारै यो लत हटाउन सकिन्छ ।

त्यसकारण अभिभावकले अहिले नै आफ्ना बालबालिका के गरिरहेका छन् वा के गरिरहेका छन् भनेर निगरानी बढाउनुपर्छ । मोबाइलमा यस्ता हिंस्रक खेलको लत बसिसकेको हो भने बिस्तारै यसबाट छुट्कारा दिलाउनुपर्छ ।

खेल बन्द गर्ने प्रहरीको तयारी
पब्जीले अपराध जन्माउन सक्ने भन्दै महानगरीय अपराध महाशाखाले यो खेल बन्द गर्ने तयारी थालेको छ । पब्जीबिरुद्ध उजुरी आउन थालेको जानकारी दिँदै महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले भने, ‘अदालतको अनुमति लिएर पब्जी बिरुद्ध आवश्यक प्रक्रिया अगाडी बढाउँछौं ।’ratopati

प्रतिक्रिया दिनुहोस्