तपाई आफ्नो बालबालीकालाई कस्तो बनाउन खोज्नु भएको छ ? पुरा पढ्नुहोस्

तपाई आफ्नो बालबालीकालाई कस्तो बनाउन खोज्नु भएको छ ? पुरा पढ्नुहोस्

बालबालिका प्रकृतिले दिएको एक अनुपम वरदान हुन् । देशको भविष्य हुन् । तर यदी पछि गएर बालबालिकाको चरित्र खराब भयो भने ? उनीहरु अपराधिक प्रवृत्तिमा लिप्त भए, चोरी, डकैती, लूटपाट, आगजनी, ड्रग्स सेवन, मध्यपान, धुमपान आदी नराम्रा वानीको शिकार भए उनीहरुको असफलता निश्चित छ ।

बालबालिकाको खराब वानी व्यहोरा केवल आमा बुवा एवं परिवारका लागि मात्र एक गम्भीर सस्या होइन । यो त पूरै समाज र देशको लागि पनि हानिकारक हुन्छ । बलात्कार, हत्या, लुटपाट आदी बारेमो समाचार हरेक दिन पत्रपत्रिका, सञ्चारमाध्यममा पढ्न र सुन्न परिरहेको छ । आफ्ना सन्तान, बालबालिका र युवापुस्तामा बढेको यस्तो प्रवृत्ति रोक्ने कुनै उपाय छैन त ?

के उनीहरु कुलतमा फसे भनेर टाउँको समातेर बस्नु भन्दा अरु केही विकल्प छैन त ? आमा बुवाले सन्तान लाभ भएसँगै यी सबै विषयमा गम्भीर बन्न जरुरी छ ।

बालबालिका र युवामा बढिरहेको यस्तो प्रवृत्ति रोक्ने एकमात्र साधन हो नैतिक शिक्षा ।

समाजले व्यक्तिलाई दुई कुराबाट चिन्छ । पहिलो उसको ज्ञान र अर्को उसको नैतिक व्यवहार । व्यक्तिको सर्वांगीण विकासका लागि यो दुबै अति आवश्यक हुन्छ ।

ज्ञान सफताको साँचो हो भने नैतिकता सफताको सिँढी । एकको अभावका अर्कोको पतन निश्चित छ । नैतिकताको कारण नै विश्वासमा दृढता र बुझाइमा प्रखरता आउँछ ।

नैतिकता नै त्यो गुण हो जो बालबालिकालाई सामाजिक प्राणी बन्न सहयोग गर्छ । यसका लागि हरेक बच्चालाई नैतिक शिक्षा दिनु घर परिवार र आमा बुवाको कर्तव्य हो । यसका लागि सबैभन्दा पहिला हामीले नैतिक शिक्षको अर्थबारे जान्न जरुरी छ ।

के हो नैतिक शिक्षा ?

नैतिक शिक्षा यस्तो शिक्षा हो जो बालबालिकामा नैतिकताको गुणको विकास गराउँछ । बालबालिकालाई संस्कारसँग जोड्छ । उनीहरुलाई कर्तव्यको ज्ञान गराउँछ । परिवार, समाज, समूहको नैतिक मूल्यलाई स्वीकार गर्न तथा सामाजिक रीति, रिवाज परम्परा तथा धर्मको पालन गर्न सिकाउँछ ।

अर्को अर्थमा भन्ने हो भने नैतिक शिक्षा समाजको त्यो समूहको रीति या काम गर्ने तरिकाको पालन गर्न सिकाउँछ ।

साधारण र बोलिचालिको भाषामा भन्ने हो भने नैतिक शिक्षा त्यस्तो शिक्षा हो जसले बालबालिकालाई ठूलोको आदर गर्न, विहान चाँडो उठ्न, सत्य बोल्न, चोरी नगर्न, आमा–बुवाको चरणस्पर्श गर्न तथा आपराधिक प्रवृत्तिदेखि टाँढा राख्न सिकाउँछ ।

यी सबै कुरा त्यतिबेला सम्भव छ जब तपाईंमा वा तपाईंको बालबालिकामा अनुशासन छ । त्यसैले नैतिक शिक्षा हामीलाई अनुशासनको पाठ पनि पढाउँछ ।

किन पर्छ नैतिक शिक्षाको आवश्यकता ?

व्यक्ति एक सामाजिक प्राणी हो । समाजमा रहनका लागि उसमा समाजिक नियमको पालना गर्नु जरुरी छ । बच्चाले जब जन्म लिन्छ त्यो बेला न त उ नैतिक हुन्छ न त अनैतिक । उ त भगवान(प्रकृति)ले दिएको एक अनुपम वरदान हो जसलाई तपाईंले चाहनु भयो भने नैतिक बनाउन सक्नुहुन्छ या अनैतिक ।

तर हरेक आमा–बुवा को यो इच्छा हुन्छ कि आफ्ना सन्तानले समाजमा प्रतिष्ठा, प्रशंसा एवं लोकप्रियता हासिल गरुन् । यसका लागि उनीहरु आफ्नो बालबालिकालाई आफ्नो हैसियत भन्दा माथि गएर राम्रो स्कूलमा भर्ना गराउँछन् ताकि उसले नैतिक शिक्षा ग्रहण गरोस्, नैतिक मूल्यको विकासउ गर्न सकोस् । तर स्कूले शिक्षाका साथ साथ बालबालिकामा नैतिक गुणको विकास गर्ने काम आमा–वुवाका साथ साथ परिवारका अन्य सदस्यको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

आमा–बुवालाई नै बालबालिकाको पहिलो गुरु पनि मानिन्छ । यसकारण बालबालिकामा संस्कारको बीउ राख्ने काम सबैभन्दा पहिला तपाईको कर्तव्य हो । त्यसका लागि पहिला आमा बुवाले आफूले नैतिकवान बन्ने प्रयास गर्न जरुरी छ । आदिम कालदेखि हिन्दूधर्म दर्शनमा बालबालिकालाई कसरी गुणवान बनाउन सकिन्छ र कस्ता सन्तान हुनुपर्छ भन्ने बारेमा व्याख्या पाइन्छ ।

हिन्दूधर्म शास्त्रमा एउटा श्लोक छ जसमा भनिएको छ –

वरमेको गुणी पुत्रो न च मूर्खशतान्यपि । 
एकश्र्चन्द्रस्तमो हन्ति न च तारागणे पि च ।।

अर्थ– शय मुर्ख पुत्र(सन्तान) भन्दा त एक गुणवान पुत्र(सन्तान) राम्रो । एक्लै चन्द्रमा अन्धकारलाई नाश गर्छ, तर ताराहरुको समूहले अन्धकार नाश गर्न सक्दैन ।

माथि नै भनियो सन्तान प्रकृतिको यस्तो देन हो जो काँचो माटो जस्तै हुन् । उनीहरुलाई परिवार, आमाबुवाले दिएको शिक्षाले गुणवान वनाउने की मुर्ख बनाउने भन्ने अर्थ राख्छ । हिन्दू धर्म दर्शनका अनुसार शय मुर्ख सन्तानको तुलनामा एक गुणवान पुत्र राम्रो मान्छि ।

अव प्रश्न उठ्छ, कस्तो सन्ताले कुल(वंश)को नाम उचाइमा पुर्याउँछ त ?

श्रावयेद् मृदुलां वाणीं सर्वदा प्रियमाचरेत्। 
पित्रोराज्ञानुकारी स्यात् स पुत्रः कुलपावनः ।।

अर्थ– जो मिठो बोलीसहित सदा प्रिय, राम्रो आचरण गर्छ, आमा–बुवाको आज्ञा मान्छ, यस्तो सन्तानले मात्र कुल(वंश) लाई पवित्र पार्छ ।

सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया सखा ।
शान्तिः पत्नी क्षमा पुत्रः षडेते मम बान्धवाः।।

अर्थ– सत्य मेरी आमा हुन्, ज्ञान मेरो पिता, धर्म मेरो बन्धु, दया मेरो साथी, शान्ति मेरी पत्नी तथा क्षमा मेरो पुत्र हो । यिनीहरु नै मेरो नातेदार हुन्

माथि उल्लेखित श्लोकले भनेजस्तै तपाईले आफ्ना सन्तानलाई यी विभिन्न पक्षबारे जानकार गराउन जरुरी छ । त्यसका लागि तपाई(आमावुवा) तपाईका आमाबुवासँग कसरी प्रश्तुत हुने गर्नु भएको छ, पतिले पत्नीसँग, साथीभाइसँग, वृद्धवृद्धासँग गर्ने व्यवहारले बालबालिकामा पनि त्यसको प्रभाव पर्न जान्छ । त्यसैले बालबालिकालाई सत्मार्गमा लैजान चाहनेले पहिला आफूलाई पनि सत्यको पथमा हिँडाउन जरुरी छ ।

आजभोलि हरेक आमा–वुवाको गुनासो हुन्छ कि छोराछोरीलाई केही भन्यो भने सन्दैनन् । कुनै कुरा जोडसँग भन्यो भने रिसाउँछन् । सानो सानो कुरामा लडाई–झगडा उत्रिन्छन् । कुराकानी गर्ने ढंग छैन ।

यो सबैको जिम्मेवार के त्यो अवोध बालबालिका हुन सक्छन् त ? अहँ पक्कै सक्दैनन् । यसको मुख्य जिम्मेवार आमा–बुवा नै हो । किनकी बालबालिकाले सबैभन्दा धेरै सिक्ने भनेको आफू वरपरको वातावरण, घरायसी माहोल, आमा–बुवाबीचको सम्बन्ध आदीका आधारमा नै हो ।
बालबालिकाले त्यो नै सिक्छन् जो तपाई गर्नुहुन्छ । धेरै जसो आमाबुवा यस्ता छन् कि उनीहरु आफ्ना बालबालिकाको गल्तीलाई वेवास्ता गर्छन् जुन गलत हो ।

जो बालबालिकाको बाल्यकाल नै सत्य बोल्नु, सहयोग गर्नु, दया गर्नु, निष्पक्षता, आज्ञापालन, राष्ट्रियता, समवद्धता, सहष्णिुता, करुण आदी मानवीय गुण सिकाइन्छ त्यही बालबालिक नै पछि गएर गुण युक्त चरित्र निर्माणमा सहायक हुन्छ ।

चाणक्यले बालबालिकाको लालन पालनका बारेमा ‘बाल मानोवैज्ञानिक’ का रुपमा अनेक उपदेश दिएका छन् । जसको मनन सही रुपमा गर्न सकियो भने सन्तानलाई संस्कारी बनाउन सहज हुन्छ । चाणक्यका अनुसार छोरा छोरी(सन्तान) लाई पाँच वर्षसम्म प्रेम गर्नुपर्छ भने त्यसपछि १० वर्षसम्म कडा निगरनीमा राख्नु आवश्यक छ । सोह्र वर्षपछि छोराछोरीलाई साथी जस्तो व्यवहार गर्न जरुरी छ ।

हामीलाई थाहा छ बालबालिकाको दोष–दुर्गुण आउने धेरै सम्भावना १६ वर्षको उमेसम्ममा हुन्छ । त्यसपछि उनीहरु राम्रो नराम्रो बारे आफैं विचार गर्न सक्छन् । चाणक्य बालबालिकालाई नपढाउँने अभिभावकलाई शत्रुबराबर भएको मान्छन् । उनी भन्छन्,‘ती आमा बुवा शत्रुका समान छन् जो आफ्नो छोरा छोरीलाई पढाउँदैनन् ।’

चाणक्य नीतिमा भनिएको छ–यदी सन्तान सञ्जन र विद्वान छन् भने उनीहरुले कुलकुललाई आनन्दित गर्नसक्छन् । जसरी रातिको समयमा चन्द्रमा आनन्ददायक हुन्छन् ।’khabarhub

प्रतिक्रिया दिनुहोस्