मिस नेपालमा “मिस” भएको मधेशी समुदाय

मिस नेपालमा “मिस” भएको मधेशी समुदाय

( बहस )

सन् १९९४ बाट सुरु भएको मिस नेपालले हाल सम्म २४ जना मिस नेपालको घोषणा गरिसकेको छ र २५ औं को नयाँ प्रक्रिया पनि अघि बढिरहेको छ । यसको आयोजक दि हिडेन ट्रेजर हो । जसको अर्थ नेपालीमा लुकेको बहुमुल्य सम्पत्ति हुन्छ । “सुन्दता, दिमाग, आत्मविश्वास र सकरात्मक सोच” यसको नारा हो । तर न यसले लुकेका सुन्दर नारीहरुलाई प्रतियोगितासम्म ल्याएको देखिन्छ न सकरात्मक विचार, आत्मविश्वास र दिमाग जस्ता कुरालाई नै नारामा भने जस्तै गरि प्रोत्साहन गरिरहको देखिन्छ । जे देखिन्छ, त्यो बढि शारीरिक बनावट र निर्णायकको व्यक्तिगत सोच मात्र छ ।

देशको करिब आधा जनसंख्या ओगटने मधेशी नारीहरुका लागि कागलाई बेल पाक्यो हर्ष विस्मात जस्तै बनेको छ, यो सुन्दरी प्रतियोगिता । हालसम्मका २४ जना मध्ये प्रथम मिस नेपाल रुवी राणा र नवौं उषा खड्गी विरगन्ज निवासी हुन् तर मधेशी अनुहार होइन्न । सन् २०१७ मा मारवाडी समुदायबाट निकिता चन्दक मिस नेपाल बनेकी थिइन तर उनी पनि मधेशी समुदाय भित्र पर्दिनन् । फेरि, मिस नेपाल जस्ता सयौं मञ्चहरु छन् जहाँ मधेशीहरु प्रथामिकतामा पर्दैनन् । भन्ने गरिन्छ, मधेशीहरु नै आउदैनन् भनेर तर तिनिहरु किन आउन सकेननन् त ? कसैले कारण खोज्न सकेको छ त ? देशको नाम नै राखेर गरिने यस्ता प्रतिस्पर्धाहरुमा वर्षौदेखि एउटा ठूलो समुदाय छुटनु कति सम्म न्यायोचित हो ? यस प्रतियोगिताले अन्तराष्ट्रिय मञ्चहरुमा पनि स्थान पाउने भएकाले  प्रतियोगिता आम नेपालीको हुनु नितान्त जरुरी हो तर त्यसमा आयोजक सधैं चुकिरहेको छ र यसले जनमानसमा धेरै प्रकारका प्रश्नहरु पनि जन्माएको देखिन्छ ।

के मिस नेपालले तय गरेका नाराहरु भित्र उनीहरु पर्दैनन् त ? कस्तो अनुभव गरेका होलान हाम्रा मधेशी दिदि बहिनी र दाजु भाईहरुले यस्तो कार्यक्रमबाट ? के यस्तो खाले व्यवहारहरुले हाम्रो सामुहिकता, एकता र राष्ट्रियतालाई दरिलो बनाउन सक्ला त ?

प्रसिद्ध गायक उदित नारायण झालाई बेला बखतमा आफुलाई नेपाली भन्न किन अपठ्यारो मानेको भन्नेहरुले कहिले सोचेका छन् नेपाल भित्र मधेशी समुदायहरुमा भएको प्रतिभा र कलालाई किन स्थान नदिएको भनेर ? देश भित्रको मधेश भन्नेहरुले सोचेका छन् त, नेपाली भित्रका मधेशी भनेर ? यहि सोचका छन् भने उनीहरुको व्यवहार पनि त्यहि अनुसार छ त ?

हुन त मिस नेपालमा सहभागि भएर त्यसको ताज पहिरिनु मात्रै ठूलो विषय हैन् तर यस्ता किसिमका कार्यक्रम तथा प्रतिस्पर्धाहरुमा लामो समय एउटा समुदाय छुट्नुलाई नजरअन्दाज गर्न सकिन्न होला ।  आजको दिनमा यी विषयमा पर्याप्त बहस र छलफल गरेर आगामी दिनमा न्यायोचित ढंगले अगाडि बढ्ने पर्ने बेला आएको देखिन्छ ।

:: हामी, प्रस्तुत सामग्रीप्रति तपाईका सुझावहरुको अपेक्षा गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्