साझा यातायातले काठमाण्डाै उपत्यकामा २० वटा सिटी बस थप्यो

साझा यातायातले काठमाण्डाै उपत्यकामा २० वटा सिटी बस थप्यो

काठमाण्डाै – साझा यातायातले काठमाण्डाै उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम  भारतबाट ती बस मगाइएको हो ।

साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाण्डाै महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरिद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरिद भएकोे हो । उहाँले भन्नुभयो, ‘अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाण्डाै आइपुग्नेछ ।’

बस काठमाण्डाै आइपुगेपछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उहाँले जानकारी दिनुभयो । काठमाण्डाै महानगरपालिकाले  पाँच करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँ शेयर खरिद गरेका छन् ।

२०१९ सालमा बस सेवा सुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो । विभिन्न समस्याका कारण दुई दशकसम्म साझाका सेवा ठप्प भयो । २०७० वैशाखदेखि साझाले नयाँ बस खरिद गरेर पुनः सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बस अहिले काठमाण्डाै उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ । साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरिद गरेर सेवा फैलाइरहेको जनाएको छ ।

साझा यातायातले गएको वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा छ । साझाले काठमाण्डाैदेखि बागलुङ र काठमाण्डाैदेखि कुश्मासम्मको लामो दूरीका दुई-दुई बस समेत सञ्चालन गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्