शान्ति सुरक्षाकर्मीको संख्या १० हजार पु-याउन नेपाल तयार

शान्ति सुरक्षाकर्मीको संख्या १० हजार पु-याउन नेपाल तयार

काठमाडौ – संयुक्त राष्ट्रसंघ मातहत शान्ति कायम गर्न खटिने सुरक्षाकर्मीको संख्या १० हजारसम्म पु-याउन तयार रहेको नेपालले जनाएको छ। शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघसँगको ६१ औं साझेदारीको अवसरमा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले संयुक्त राष्ट्रसंघको मागअनुसार संख्या बढाउन सकिने बताएका हुन्। संयुक्त राष्टे मुख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले शान्ति मिसनमा परिचालित हुने नेपाली सेना र प्रहरीका लागि राष्ट्रसंघीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिताको मागसमेत गरेका छन्।

‘विभिन्न ११ देशका १२ मिसनमा रहेर काम गरिरहेको नेपाल उत्कृष्ट पाँचौं मुलुक होे। हालसम्म शान्ति स्थापनार्थ खटिने क्रममा नेपालका ७३ सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन्। हाल नेपालबाट करिब साढे पाँच हजार सुरक्षाकर्मी शान्ति मिसनमा खटिने गरेका छन्। रक्षामन्त्री पोख्रेलले राष्ट्रसंघका महासचिवले अघि सारेको शान्ति कार्य, लैङ्गिक रणनीतिलगायत सुधारमा नेपालको समर्थन रहेको बताउँदै शान्ति मिसनको कार्य क्षमतामा सुधार गर्न आग्रह पनि गरेका थिए। शान्ति स्थापनार्थ खटिने सुरक्षाकर्मीको क्षमता विस्तार, तालिमको अवसर, शान्ति मिसनका लागि चाहिने तालिम केन्द्रको सुविधा, प्रशासनिकलगायत सहयोग गर्न पनि नेपाल तयार रहेको पोख्रेलले बताए। दक्षिण सुडानमा हाइ रेडिनेस कम्पनी, लिवियामा स्पेशल गार्ड युनिट र सिरियामा मेसिनाइज इन्फेन्ट्र कम्पनी परिचालन गरिसकेको जानकारी दिँदै उनले सन् २०१८ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हाई रेडिनेस प्रोटेक्सन बटालियन परिचालन गरेको जनाएका छन्।

सम्बोधनमा उनले सन् २०१९ र २०२० का पिस किपिङ क्यापाबिलिटी रेडिनेस सिस्टमका लागि नेपालले एउटा इन्फेन्टी बटालियन र फोर्स प्रोटेक्सन कम्पनीमा बढुवाको घोषणा गरेका छन्। शान्ति मिसनका लागि तोकिएका सर्तहरू पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्टाफ अधिकृतको रूपमा महिला शान्ति सेनाको सहभागिताका लागि मिलिटरी अब्जवर्स र व्यक्तिगत अधिकृतहरूले पनि राष्ट्रसंघले तोकेका सर्तहरू नेपालले पूरा गरिसकेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्