विप्लव नेकपाले सफाय गर्ने सूचीमा को-को पर्छन जान्नुहोस

विप्लव नेकपाले सफाय गर्ने सूचीमा को-को पर्छन जान्नुहोस

काठमाण्डु – विप्लव नेकपाले सफाय गर्ने सूचीको दोश्रो नम्बरमा आफ्नो नाम रहेको खुलासा प्रचण्ड आफैंले गरेपछि राजनीतिक बजार गर्माएको छ ।

पेरिसडाँडास्थित पार्टी कार्यालयको शहीद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रममा उनले यसो भन्ने केही दिनअघि विप्लव समूहलाई प्रतबन्ध लगाउनेसम्बन्धी बालुवाटार बैठकमा त्यस्तो विवरण पेस भएको थियो, उनकै समूहका नेता रामबहादुर थापा मन्त्री रहेको गृहका तर्फबाट । प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, मीनेन्द्र रिजाल, गृह तथा कानूनमन्त्री सम्मिलित छलफलमा विप्लव समूहले सेबोटेज गर्ने १२ जनाको सूची पेश भयो ।

त्यसकै २ नंं मा थियो प्रचण्डको नाम । त्यही सूचीमा प्रम ओली, पूर्वप्रम देउवाहरुको नाम पनि मुछएपछि बालुवाटारमा बसेर प्रतिबन्धको निर्णय भएको हो । प्रचण्ड कुनै बेला विप्लवका पनि सुप्रिम कमाण्डर थिए । उनले क्रान्तिलाई धोका दिए भन्दै विप्लवहरु ऋअहिले भाषण गर्छन् र प्रतिशोधस्वरुप लिष्टमा नाम हालेका छन् । तर, जागिर खाने क्रममा अख्तियार आयुक्तको शिकार भई ओरालो लागेका निलम्बित सहसचिव चुडामणि शर्मा, घूस काण्डमा फरार लम्बोधर न्यौपाने र अख्तियार आयुक्तबाट अघिल्लो महिना राजीनामा दिएका राजनारायण पाठकहरुको नाम पनि त्यसमै थियो । उनीहरु त्यस्ता कर्मचारी हुन्, जसमाथि भ्रष्टाचारको आरोपमा छानबिन जारी छ । यसको अर्थ यो होइन कि कोहीमाथि आर्थिक अपचलनको बात लाग्दैमा ऊ ज्यान गुमाउनुपर्ने हदसम्म सजायँको भागिदार हुनुपर्छ ।

तर, विप्लवले सफाय सूचीमै नाम राखिसकेपछि चुडामणि, लम्बोधर र राजनारायणहरुको स्थिति के हुन्छ ? प्रचण्डसँग अगाडि एक दर्जन, पछाडि एक जर्दन र साथमै तीन चार जना कमाण्डो हिंड्छन् । त्यसैले उनको नाम जति नम्बरमा हाले पनि राज्यले दिनुपर्ने सुरक्षा र सुरक्षाकर्मीले अपनाउनुपर्ने सतर्कता पर्याप्त मात्रामा अपनाएकै छ । तर, कुनै आरोप लागेर सामाजिक रुपमा असुरक्षित पारिवारिक अवस्था तनावमा गुजारिरहेका र राज्यले दिनुपर्ने सुरक्षाबाट पनि बञ्चित भएका यस्ता मानिसहरु मारिए भने अवस्था के हुन्छ ? के उनीहरु कतिबेला विप्लवका लडाकु आउलान् र गोली ठोकेर मार्लान् भनेर खसी बोकाले झैं काल पर्खिनुपर्ने हो ? बालुवाटारमा यसबारे पनि छलफल भएको तर उनीहरुलाई सरकारका तर्फबाट सुरक्षा दिइएको वा सुरक्षित भएर बस्न खबर पठाइएको खबर यो पंक्ति लेख्दासम्म आएको छैन । 

जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्