अमेरीकामा नेपालीले नेपालीलाई नै हेप्ने रहेछन् : प्रचण्ड

अमेरीकामा नेपालीले नेपालीलाई नै हेप्ने रहेछन् : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट विहीबार नेपाल फर्किए । प्रचण्डले विमानस्थलको भीआइपी कक्षमा पत्रकारहरुसँग भने, ‘राजदूत र अरु साथीहरु (विमानस्थलमा) आउनुभएको थियो । मलाई त झण्डै भूमिगतरुपले बाहिर निकाल्ने कुरा गर्नुभयो । के भएछ, किन त्यसो गर्ने भनेर म आश्चर्यमा परेँ । उहाँहरुलाई लागेको रहेछ, केही घटना पो हुन्छ कि ?’

प्रचण्डका अनुसार अमेरिकास्थित नेपाली राजदूतसहितको टोलीले केही भएको भए छलेर बाहिर निकाल्ने व्यवस्थासमेत मिलाएका रहेछन् । उनले भने, ‘तर, केही भएन । खाली कन्फ्युजन जस्तो मात्र थियो ।’

प्रचण्डको टोली भ्रमण अवधिभर नेपाली दूताबासमै बसेको थियो । यसक्रममा प्रचण्डले केही भेटघाटहरु पनि गरेका थिए ।

श्रीमती सीता दाहालको उपचारपछि स्वदेश फर्किएका प्रचण्डले अमेरिकामा रहेका केही नेपालीहरुको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

तर, आफ्नाविरुद्ध अमेरिकामा कुनै गतिविधि नभएको प्रचण्डले बताए । भ्रमणका क्रममा लामो समयदेखि अमेरिकामा बसेकाहरुसँग भेट गर्नुका साथै पार्टीको बैठकसमेत गरेको प्रचण्डले जानकारी दिए ।

प्रचण्डका अनुसार जहाँ उजुरी परेको थियो, त्यहीँ गएर भ्रम चिर्नुपर्छ भनेर उनले प्रदेशसभा सांसद हृयारी भण्डारीको सहयोगमा मेरिल्याण्डको संसद भवन, सिनेटको भ्रमण गरे ।

आफ्नो भ्रमण अगाडि नै अमेरिकी सरकारले कुनै अनुसन्धान नगर्नू भनेर सर्कुलर गरेकाले भ्रमणका क्रममा कुनै समस्या नभएको उनले विहीबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुलाई सुनाए ।

लामो समयदेखि अमेरिकामा बस्ने ‘एकथरी नेपाली’ ले आफूलाई अमेरिकाकै रैथानेजस्तो ठान्ने गरेको बताउँदै प्रचण्डले भने, ‘मानौं, अमेरिकामा बसेका हुनाले उनीहरु नै सुपरपावर हुन् जस्तो गरेर यहाँबाट गएका नेपालीलाई हेप्ने गरेका रहेछन् ।’

पछिल्लो समय नेपालबाट गएका नेपालीहरु अमेरिकामा बढ्दै गएको बताउँदै प्रचण्डले भने, ‘आन्दोलनबाट आएका नेपाली त्यहाँ पनि गएकाले विस्तारै जनताको जीत त्यहाँ पनि हुँदैछ ।’

नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसीले शान्ति सम्झौता र नेपाली नेतृत्वको प्रशंसा गरेको सुनाउँदै प्रचण्डले भने, ‘जसले पक्राउ गर्नुपर्छ भनेर अपराधीको रुपमा व्यवहार गर्न खोजेका थिए, उनीहरुका लागि राम्रै प्रतिवाद हुनपुग्यो ।’

प्रतिक्रिया दिनुहोस्