नेपाल एयरलाइन्सले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने

नेपाल एयरलाइन्सले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ ।

जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो ९जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ । 

कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महिनादेखि ओसाका उडान औपचारिक रुपमा सुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । जापान एभिएसनबाट उडान अनुमति पाएपछि उडान तयारीका लागि ४५ दिन लाग्नेछ भने अनुमति आएपछि पनि थप ३० देखि ४५ दिन निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनमा समय लाग्नेछ । 

‘ओसाका उडानका लागि निगमले सबै कागजी प्रक्रिया पूरा गरेको छ, आज या भोलि बुधबारसम्म जापान सिभिल एभिएसनलाई कागजात बुझाउँछौँ, उसको प्रक्रियाअनुसार करीब ४५ दिनमा अनुमति जारी भएपछि निगमलाई सबै तयारी गर्न करीब ४५ दिन समय लाग्छ’, उहाँले भन्नुभयो । 

सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पछएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ ।

निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र ९एओसी) पाएको थियो । निगमले यसअघि फागुन १५ भित्र जापान र चैतभित्र चीन उडान गर्ने योजना बनाए पनि ‘ग्राउण्डह्याण्डलिङ’लगायत समस्याका कारण उडान ढिलो भएको जनाएको हो । 

ओसाकासँगै जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्नका लागि प्रक्रिया अघि बढाइसकिएको छ । नारिता उडानका लागि करिब दुई साताअघि पत्राचार गरेको निगमले नारिता विमानस्थलका उच्च अधिकारीसँग द्विपक्षीय वार्तासमेत गरेको छ । निगमको आग्रहबमोजिम नारिता विमानस्थलको उच्चस्तरीय टोलीले सोमबार निगमका पदाधिकारीसँग वार्ता गरेको र निगमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको सहायक प्रवक्ता कोइरालाले बताउनुभयो । 

‘नारिता उडानका लागि हामीले कागजी प्रक्रियासँगै उच्चस्तरीय वार्ता पनि गरेका छौँ, यसमा पनि छिट्टै प्रगति हुने देखिएको छ’, उहाँले भन्नुभयो । निगमले नारिता उडानका लागि सातामा तीन दिनको ‘स्लट’ पाए पनि दुई वटा मात्रै उडान गर्नेछ । यात्रुको चापअनुसार उडान वृद्धि गरिने निगमले जनाएको छ । 

गत पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल आउनुहुँदा हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जेक्याबलाई पत्राचार गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्