आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ गतेदेखि सुरु हुने

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ गतेदेखि सुरु हुने

नेपालगञ्ज – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ गतेदेखि सुरु हुने जनाएका छन् । प्रतियोगिताको राष्ट्रपति विद्यादेबी भण्डारीले चैत २७ गते बेलुकी ८ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको विष्टले जानकारी दिए । यसअघि दुई पटक मिति तय गरिए पनि तयारी नपुगेका कारण स्थगित भएको थियो ।

राखेपले २७ गते प्रतियोगिता संचालन गर्ने निर्णय १५ चैतमा बस्न राखेपको बोर्ड बैठकले निर्णय गर्ने बताए । भिआइपी प्याराफिट सोमबार विहानदेखि नेपालगन्ज रंगशालामा जडान हुने बताउँदै उनले भिआइपि प्याराफिटलाई जडान गर्न १५ दिन लाग्ने जानकारी दिए ।

नेपालगन्जमा एक अर्वको लगानीमा भौतिक संरचना निर्माण भएको बताउँदै राखेप सदस्य सचिव विष्टले नेपालगन्जको इतिहासमै यति ठुलो लगानीमा पहिलो पटक प्रतियोगिता हुन लागेको बताए । ‘नेपालगन्जले भौतिक संरचनामात्र पाएको छैन, प्रतियोगिताले नेपालगन्जको अर्थतन्त्रमा समेत टेवा पुर्याउने छ,’ उनले भने ।

प्रतियोगिताकोे उद्घाटन भव्य समारोहका विच हुने मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । भारतमा अड्किएको प्याराफिट आइतबार साँझ आइपुग्ने र सोमबारदेखि जडान सुरु हुने अध्यक्ष ओलीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्