स्वस्थ दाँत, स्वस्थ जिवन

स्वस्थ दाँत, स्वस्थ जिवन

काठमाडौं – काठमाडौं होस् वा पोखरा वा विकट पूर्वी जिल्ला पाँचथरको फिदिम, वा पश्चिम बाजुराको मार्तडी होस् वा गाउँघर नै होस्, सबै ठाउँका मानिसमा दाँतसम्बन्धी समस्या नभएको कुनै ठाउँ र व्यक्ति छैन। कसैमा समस्या जटिल छन् त केहीमा भर्खर सुरु भएका छन् अनि कसैको अंग भंग नै भइसकेको पाइन्छ। मैले १९ सयभन्दा बढी शिविरमा र दुई दशकमा गरेको दाँतका बिरामीको परीक्षणको अनुभव हो यो।

दाँत र मुख दुखेर खप्न नसक्ने, गिजा सुन्निएर ज्वरो नफ¬टेसम्म सामान्यतया बिरामी मानिँदैन हाम्रोमा। स्वास्थ्य चेतना एवं उपचारका दृष्टिले धेरै पछि परेको हाम्रो देशमा मुख र दाँतको स्वास्थ्यमा ध्यान नदिनु स्वाभाविक नै होला। ठूलो रोग नलागी अस्पताल नजाने प्रवृत्ति भएको हाम्रो समाजमा दाँत र मुखलाई प्राथमिकता दिने कुरै भएन।

प्रायः नेपालीका दाँत २०/२२ वर्षकै उमेरमा १/२ वटा र ४०/५० वर्षकै उमेरमा ४/५ वटा झरिसकेको पाइन्छ र कतिपय दाँत झर्न लागेका वा हल्लिएका हुन्छन्। मुख गनाउने, दाँतबाट रगत आउने, दाँत किराले खाने जस्ता समस्या त सामान्य नै भए। चेतना अभाव र गरिबीले मात्र नभएर स्वास्थ्यप्रति गम्भीर नहुने हामी नेपालीको प्रवृत्ति पनि यसका लागि उत्तिकै जिम्मेवार छ।

सरकारले पनि दन्तचिकित्सालाई महत्व नदिँदा केन्द्रीय स्तरमा दन्त अस्पताल, महाशाखा र प्राथमिक स्वास्थ्य केन्द्रको त क¬रै छाडौं जिल्लामा समेत दन्तचिकित्सकको व्यवस्था हुन सकेको छैन। दाँत र मुखसम्बन्धी रोगबारे चेतना अभाव, सरकारी उदासिनता र दुर्गममा अपर्याप्त दन्तचिकित्सा सेवा र प्राविधिकका कारण मुख र दाँत रोगको उपचारमा कठिनाइ छ। त्यसमाथि दन्तरोग बढाउने हाम्रा आदत, बानी र जीवनशैलीले पनि रोगीको संख्या बढिरहेको छ। यसलाई समयमै ध्यान नदिए गम्भीर स्वास्थ्य समस्या आउने निश्चितप्रायः छ।

दाँतका मुख्य रोगको कुरा गर्दा दन्त सडन, दन्तहर्षा, पाइरिया, दाँत सिरिंग सिरिंग गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, पहेँला र नमिलेका दाँत, मुखमा घाउ खटिरा र मुखमा विभिन्न रंगका दाग, धब्बा वा पत्र देखा पर्छन्। यसका जटिल रोगमा गला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएको र दाँत फुस्कने वा थोते भएको पनि त्यतिकै भेटिन्छन्।

शरीरको प्रवेशद्वार मुख

मुख सानो भए पनि मानव शरीरको महत्वपूर्ण अंग हो। शरीरको कुनै पनि अंग प्रत्यंग, कोशिकालाई चाहिने पौष्टिक तत्व, भोजन, खाजा वा औषधि मुखबाट नै लिने भएकाले नै मुखलाई शरीरको प्रवेशद्वार भन्ने गरिन्छ। मुखको स्वास्थ्यभन्दा प्रत्यक्ष रूपमा मुख वा यस वरिपरिका अंगप्रत्यंगलाई बुझाए पनि परोक्ष रूपमा शरीरको सम्पूर्ण अंगप्रत्यंगको स्वास्थ्यसँग जोडिन्छ। सफा मुखले पौष्टिक भोजन खाए मात्र शरीर स्वस्थ भई एउटा सफल जीवन र स्वस्थ्य नागरिकको कल्पना गर्न सकिन्छ।

शरीरको ऐना

एकातिर मुख र दाँतमा देखिने रोग मुखसँगै मात्र सम्बन्धित हुन सक्छन् भने अर्कोतिर शरीरका अंगप्रत्यंग वा प्रणालीसँग सम्बन्धित रोगको प्रतिविम्ब हुनसक्छ। घाउ खटिरा शरीरका अंगप्रत्यंगमा रोग देखिनुभन्दा पहिले वा एकसाथ वा पछि देखिने भएकाले नै मुखलाई शरीरको ऐना भनिन्छ।

मुखले शरीरका अंगप्रत्यंगमा लाग्न सक्ने वा लागेका विभिन्न प्राणघातक रोगको पहिचान गर्न सघाएको ज्वलन्त उदाहरण प्रसस्त भेटिन्छन्। दादुरा आउनु २/४ दिन पहिले नै मुखमा कप्लिक स्पट देखिनु, एड्स रोगमा मुखमा कापोसिस सार्कोमा आउनु र मधुमेहमा दाँत निकालेको घाउ र मुखका अन्य रोग निको नहुनु यसका उदाहरण हुन्। मुखको समस्याको उपचारले कतिपय अवस्थामा शारीरिक प्रणालीका अन्य रोगको समेत निदान, निराकरण र उपचार हुने गर्छ।

दुई दशकयता १२ डेन्टल कलेज, ५ पीजी कलेज र दन्तचिकित्सककै जोडबलमा नेपालले दाँत र मुखका रोगको उपचारमा फड्को मारेको छ। दन्तउपचारका लागि यतिबेला विदेश जानु पर्दैन। करिब २७ सय दन्तचिकित्सक भएको नेपालमा बर्सेनि ६ सय डेन्टिस्ट उत्पादन भइरहेका छन्। विकसित देशमा कुल स्वास्थ्य बजेटको १० प्रतिशत दन्तचिकित्साका लागि छ¬ट्ट्याइन्छ तर नेपालमा नगन्य अर्थात केही लाख मात्र।

समयको महत्व

दाँत किराले खाने, दन्तहर्षा र पाइरिया जस्ता रोगबाट स्पेस संक्रमण हुन सक्छ। पछि खाद्यनली र सास फेर्ने नली थिचिने तथा सास फेर्न नसकी मृत्युसमेत हुन सक्छ। सेलुलाइटिस, पिनास र दिमागमा क्याभर्नस साइनस थ्रोम्बोसिससम्म हुन सक्छ।

गिजा र मुखसम्बन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथ ज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढ्छ। गर्भवती भए, समय नै नपुगी बच्चा जन्मने र शिशु शारीरिक तथा मानसिक रूपमा कमजोर हुने सम्भावना रहन्छ।

धारिला, नमिलेका दाँत, लामो समयको घाऊ खटिरा, रोग, फोहर साथै सूर्तिजन्यपदार्थ, सुपारीजन्यपदार्थ सेवन लगातार र लामो समय भए मुखको क्यान्सर पनि हुन सक्छ।

रोकथाम

दैनिक खानापछि २ पटक नरम ब्रस र केराऊ आकारको फ्लोेराइड भएको दन्तमन्जनले दाँत माझ्नु पर्छ। दाँत माझेपछि डेन्टल फ्लस प्रयोग, खानेक¬रामा नियन्त्रण र नियमित दन्त परीक्षण गराउन नसकुन्जेल बर्सेनि मार्च २० मा मनाइने मुख र दाँत दिवस औपचारिकतामा मात्र सीमित हुन्छ।

भोक लागेको बेला खानेकुराको जति महत्व हुन्छ, खाइसकेपछि ब्रस गर्नुलाई पनि उत्ति नै महत्व दिनु पर्ने बेला भइसकेको छ। अन्त्यमा राम्रो काम गर्दा जस नपाउने र नराम्रो काम गर्दा दण्ड पनि भोग्नु नपर्ने वर्तमान स्थिति छ। तसर्थ सरकारी क्षेत्रबाट सही मार्गदर्शन, नीतिगत सहयोग र निरन्तर निगरानीको खाँचो छ।

(वीर अस्पताल काठमाडौंका वरिष्ठ कन्सल्टयान्ट डेन्टल सर्जन डा.बुढाथोकी नेपाल चिकित्सक संघका कोषाध्यक्ष तथा मुख स्वास्थ्य समितिका संयोजकसमेत हुन्।)

प्रतिक्रिया दिनुहोस्