जापानको निर्यात दरमा निरन्तर गिरावट

जापानको निर्यात दरमा निरन्तर गिरावट

टोकियो – जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ ।

कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक वृद्धि दरको लक्ष्यमा नकारात्मक प्रभाव छाड्न सक्ने विश्लेषकहरुकाे चिन्ता छ ।

गत बर्षको सोही समयमा जापानको निर्यात दर ६.७ प्रतिशत अर्थात् ६.३८ ट्रिलियन यन रहेकोमा यस बर्ष  १.२ प्रतिशतको कमी आएको हो । त्यस्तै आयातमा पनि निकै कमी आएको छ ।  जापानको आयातमा पनि यस बर्ष ६.७ प्रतिशतले कमी आई ६.०५ ट्रिलियन यन कायम भएको छ ।

‘प्रविधि क्षेत्रको सामानको मागमा आएको ह्रास र समग्र सामानको आयात तथा निर्यातमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानलाई तत्काल सोच्न बाध्य बनाएको छ,’ मिजुहो रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री आसुको साकामोतोले एएफपीसँगको कुराकानीमा भनेका छन्, “आयातमा देखिएको कमजोर तथ्याङ्कले जापानी बजारमा यहाँका कम्पनीद्वारा गर्दै आएको उत्पादनमा आएको गिरावटलाई प्रतिबिम्बित गरेको र यसले जापानी अर्थतन्त्रमा पार्नसक्ने प्रभावप्रति चासो बढेको छ ।”

विश्लेषकहरूले जापानी अर्थतन्त्रको समस्या आउनसक्ने आधारलाई मध्यनजर गर्दैै निर्यात तथा कर्पोरेट लगानीलाई नजिकमा रहेर नियालीरहेका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्