अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी

अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी

काठमाडौँ – अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी भएको छ ।

महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपतिबाट शुक्रबार सम्पन्न अमेरिकाको चार दिवसीय भ्रमण बाह्य जगत्मा देशको गरिमा बढाउन सफल रह्यो ।

दश वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य तथा त्यसपछि सफलतापूर्वक सम्पन्न शान्ति प्रक्रियालगायत नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधानसभाद्वारा निर्मित संविधान जारी भएपछि नेपालमा मानव अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा भएका प्रगति तथा असल अभ्यास अन्तर्रा्ष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने सन्दर्भमा राष्ट्रपतिको यो भ्रमण उपलब्धिमूलक भएको मान्नुपर्छ ।

नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोग र सम्बन्ध थप सुदृढ र विस्तार गर्ने दिशामा पनि यो भ्रमण महत्वपूर्ण रह्यो । विश्वका अग्रणी महिला नेतृत्वसँगका भेटवार्ता तथा द्विपक्षीय सम्बन्धको विकास, महिला सशक्तीकरणका लागि अनुभव आदानप्रदान गर्ने र सहयोगका अन्य क्षेत्र विस्तार गर्ने अवसरका रुपमा समेत यो भ्रमणलाई फलदायी मान्न सकिन्छ ।

भ्रमणका क्रममा भएका द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताबाट नेपालको आर्थिक–सामाजिक विकासका विभिन्न क्षेत्रमा मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । राष्ट्रपतिको भ्रमणबाट राष्ट्रसङ्घका उच्च अधिकारी, कूटनीतिक नियोगका पदाधिकारी, अमेरिकी सरकारका प्रतिनिधि, गैरआवासीय नेपाली, व्यापारिक समुदाय तथा नेपालका शुभचिन्तकसँगको भेटघाटले नेपालसँगको सम्बन्ध र परिचयलाई नवीकरण गर्ने सुअवसर प्राप्त भयो ।

प्रतिक्रिया दिनुहोस्