‘स्थानीय तहलाई असफल बनाउने विप्लव समूहको पहिलो प्राथमिकता छ’: सैनिक स्रोत

‘स्थानीय तहलाई असफल बनाउने विप्लव समूहको पहिलो प्राथमिकता छ’: सैनिक स्रोत

काठमाडौं – मंगलबार अपराह्नको मन्त्रिपरिषद वैठकले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’का सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय ग¥यो । यसअघि पनि राज्यबाट ‘राजनीतिक दल’को ‘मान्यता’ नपाएको विप्लव नेतृत्वको नेकपालाई सरकारले ‘अवैध समूह’को दर्जा दिएर उसका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सरकारको निर्णयसँगै विप्लवका गतिविधिमाथि सुरक्षा निकायले थप उच्च निगरानी बढाएका छन् । यसअघि पनि ‘विध्वांत्समक’ समूहको रुपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नै तरिकाले विप्लवमाथि निगरानी गरिरहेका थिए ।

विप्लव समूहले हतियार समेत संकलन गरेर सैन्य तालिम दिन थालेको रिपोर्ट सुरक्षा निकायबाट सरकारले प्राप्त गरेको थियो ।

मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव समूहबाट अवैध हतियार बरामद हुन थालेपछि उसका गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताए ।

विप्लवबारे सेनाको विश्लेषण– तरिका पुरानो माओवादीकै

२०५२ सालदेखि ‘जनयुद्ध’ शुरु गरेको तत्कालीन माओवादीबारे नेपाली सेनाको विश्लेषण थियो, राजनीतिक आवरण बोकेको फौजी संगठन । अहिलेको विप्लव समूहलाई पनि सेनाले पहिलेकै माओवादीको ‘क्याटेगोरी’मा राखेको छ ।

तत्कालीन माओवादीले आफ्नो अभियान शुरु गर्दा राज्यशत्ताप्रति वितृष्णा जगाएर ग्रामिण क्षेत्रका जनतालाई आफ्नो एजेण्डाप्रति आकर्षित गराएको थियो । विप्लवले पनि उस्तै रणनीति लिएको एक उच्च सैनिक अधिकारीको विश्लेषण छ ।

सैनिक स्रोतका अनुसार विप्लव अहिले स्थानीय तहका काम रोक्ने अभियानमा छन् । ‘स्थानीय तहलाई जसरी हुन्छ असफल बनाउने यो समूहको पहिलो प्राथमिकता छ,’ सैनिक स्रोत भन्छन्, ‘हालै निर्वाचित भएका जनप्रतिनिधिहरुलाई असफल बनाउन सकियो र उनीहरुप्रति ग्रामिण क्षेत्रका नागरिकमा वितृष्णा जगाउन सकियो भने आफू सफल हुन्छौं भन्ने उनीहरुको बुझाइ छ ।’

पहिलेका माओवादी समर्थकहरुलाई आफूतर्फ आकर्षित गर्न पनि विप्लव समूहले पहिलेको माओवादीकै जस्तो रणनीति लिएको सेनाको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्