इथियोपियाले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स थप अनुसन्धानका लागि विदेश पठाउने

इथियोपियाले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स थप अनुसन्धानका लागि विदेश पठाउने

इथियोपिया – इथियोपियाले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स थप अनुसन्धानका लागि विदेश पठाउने भएको छ । इथियोपियन एयरलाइन्सको फोरेन्सिक टोलीका अनुसार गत आइतबार भएको विमान दुर्घटनाको विषयमा थप विश्लेषण गर्नका लागि ब्ल्याक बक्सलाई विदेश पठाउन गर्न लागिएको हो ।

यद्यपि ब्ल्याक बक्सलाई कुन देश पठाइने भन्ने स्पष्ट नभइसकेको बताइएको छ । युरोपेली युनियनका प्राविधिकहरुले भने ब्ल्याक बक्समा रहेका डाटाहरुको कुनै युरोपेली मुलुकमा विश्लेषण हुनसक्ने जनाएका छन् । ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट अर्थात् सोमबार फेला परेको थियो ।

इथियोपियामा ब्ल्याक बक्सका डाटाहरुको विश्लेषण गर्ने प्रविधि नरहेकाले विदेश पठाउनुपरेको इथियोपियाका अधिकारीले जनाएका छन् ।गत आइतबार इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको विमान दुर्घटना हुनुको करण अझै स्पष्ट हुन सकेको छैन ।

दुर्घटनामा विमानमा सवार १ सय ४९ यात्री तथा ८ चालक दलका सदस्य गरी सबै १ सय ५७ जनाको मृत्यु भएको थियो । ब्ल्याक बक्सका डाटाहरुको विश्लेषण पछि विमान दुर्घटनामा पर्नुको कारण खुल्ने बताइएको छ ।

यसैबीच दुर्घटनाग्रस्त भएको बोइङ ७३७ म्याक्स ८ विमान उडाउँदै आएका विश्वका दुई तीहाई हवाई सेवा प्रदायक कम्पनीहरुले सुरक्षाको कारण देखाउँदै बोइङ ७३७ म्याक्स विमान नउडाउने घोषणा गरिसकेका छन् ।

गत अक्टोबरमा लायन एअरको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनामा परेयता ७३७ म्याक्स ८ विमान दुर्घटनामा परेको पछिल्लो ६ महिनामा यो दोश्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्