सरकारले ४ देशसँग नयाँ श्रम सम्झौता गर्दै

सरकारले ४ देशसँग नयाँ श्रम सम्झौता गर्दै

काठमाडौं  सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तीव्रता दिएको छ ।

श्रम मन्त्रालयले दुई देशसँग तत्काल श्रम नवीकरणका लागि प्रक्रिया अघि बढाइरहेको जनाएको छ । मन्त्रालयले कतार र युएईसँग श्रम नवीकरणका लागि आवश्यक छलफल भइरहेको जानकारी दिएको हो । यी देशसँग श्रम सम्झौता भइसकेकाले पुनरावलोकन गरि पुनः श्रम सम्झौता गर्न लागिएको मन्त्रालयले जनाएको छ । कतारसँग सन् २००५ र युएईसँग सन् २००७ एमओयु भएको थियो । साउदी, ओमान, जापान र मौरिसससँग भने नयाँ श्रम सम्झौता गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको लागत न्यूनीकरण गर्न र ठगी रोक्न सरकारले विभिन्न मुलुकसँग श्रम सम्झौताका लागि प्रयास र छलफल गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव तथा वैदेशिक रोजगार महाशाखका प्रमुख डा. रामप्रसाद घिमिरेले बताए ।

‘नेपाल सरकारले तत्काल कतार, युएई र जापानसँग श्रम सम्झौताका लागि टुंगो लागेको छ । एक महिनाभित्र यी देशसँग सरकारीस्तरमा श्रम सम्झौतामा हस्तक्षर हुँदै छ । रोजगारीमा जाने प्रायः सबै देशसँग श्रम सम्झौता गर्ने नीति सरकाले लिएको छ । साउदी ओमान, जापान र मौरिसससँग नयाँ श्रम सम्झौता हुदै छ ।’

श्रम मन्त्रालयले फ्रि भिसा र फ्रि टिकटमै कामदार पठाउने गरी श्रम सम्झौता गर्न लागेको जनाएको छ । रोजगारीमा जाने श्रमिकलाई तल परेर सम्झौता हुने छैन । सहसचिव डा घिमिरेले भने, ‘सबै रोजगारदाता देशसँग समान श्रम सम्झौता हुँदै छ । पारिश्रमिकका आधारमा केही देशमा लागत खर्च बढी लाग्न सक्छ । तर, कामदारको अधिकार सुरक्षित हुने गरि सम्झौता हुन्छ ।’

श्रम मन्त्रालयका अनुसार मौरिसस नयाँ रोजगार गन्तव्य मुलुक नभए पनि खाडीको तुलनामा आकर्षक कमाइ हुने देशभित्र पर्छ । अस्पताल, उद्योगलगायत क्षेत्रमा नेपाली कामदार लैजान मौरिसस तयार देखिएकाले नेपालले श्रम सम्झौताका लागि पहल गरिरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालयले यूएई र ओमनमा पुगेर श्रम सम्झौताका लागि दुई देशका प्रतिनिधिबिच छलफल गरिसकेको छ ।
जापानसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको छ । छुट्टै संयन्त्र बनाएर जापानमा कामदार पठाउने विषयमा दुई पक्षबीच छलफल अन्तिम चरणमा पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालयले रोजगारीमा जाने कामदारको रोजगार अधिकार, विमा, स्वास्थ्य र अन्तर्राष्टिय श्रमिक संगठन (आइएलओ) को मापदण्डमा रहेको श्रम सम्झौता गरिने सहसचिव घिमिरेले जानकारी दिए ।

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक सम्झौता भए पनि अझै मलेसिया रोजगारी खुल्न सकेको छैन । सम्झौता हुन लागेका कतार, यूएई र जापानसँग नयाँ ढंगले सम्झौता गरेर कामदार आपूर्ति गरिने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्