‘प्रचण्डलाई सिके राउतसँग तुलना गर्दा दुःख लाग्यो’: भीम रावल

‘प्रचण्डलाई सिके राउतसँग तुलना गर्दा दुःख लाग्यो’: भीम रावल
CPN-UML Vice-Chairman Bhim Rawal speaks with journalists in Kathmandu, on Monday, July 18, 2016. Photo: Reporters' Club Nepal

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन्। उनले उक्त सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई बैद्यता त प्रदान गर्दैन्? भन्दै प्रश्न समेत तेर्साए। 

सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताएका हुन्। उनले भने,‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन्।

सरकारले त्यस्तो प्रयास गर्नुपर्छ। तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन्।’ आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थैं। तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन्। उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन।’

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्येश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए। उनले भने,‘राउतजीले यदि नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो। तर, उहाँले त्यस्तो केही पनि भन्नुभएन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक ईन्चपनि भुमि टुक्रयाउन पाईँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने,‘तर, हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ। यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ।’

उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए। उनले भने,‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो।’ रावलले सिके राउतले स्वयम आफ्नो फेशबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेकोपनि सुनाए। उनले भने,‘उहाँले फेशबुकमा यस्तो कुरा लेख्नुभएको छ, स्वतन्त्र मधेशका सबै मुधाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ। यो निकै आपत्तिजनक हो। सरकारले यसको पनि जवाफ दिनुपर्छ।’

हिजो भएको सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको उनको टिप्पणी छ। आफू कम्युनिष्ट पार्टीको सच्चा कार्यकर्ता भएकोले पार्टीको विधानो प्रतिरक्षा गरेको पनि उनले स्पष्ट पारे। उनले भने,‘मधेश टुक्र्याउँछु भन्नेहरुसँग जनमतसंग्रह गर्न सहमत हुने हो ? यो कुरा संविधानले अनुमति दिन्छ त ? नेकपाको घोषणापत्रले अनुमति दिन्छ त ? म प्रश्न गर्न चाहन्छु।’

रावलले कसको स्वार्थमा यत्रो सहमति गरियो ? भन्दै सरकारलाई प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्