टीकापुर घटना: सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैद, चौधरीको सांसद पद खारेज हुने

टीकापुर घटना: सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैद, चौधरीको सांसद पद खारेज हुने

कैलाली- कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरी सहित ११ जनालाई दोषी देखाउँदै जन्मकैदको फैसला सुनाएको छ।

टीकापुर २०७२ भदौ ७ गते प्रहरीका एक एसएसपी सहित ९ जनाको हत्या भएको थियो। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले यस्तो फैसला गरेको हो। 

सोही घटनामा १२ जनालाई तीन वर्षको कैद सजायँ अदालतले सुनाएको छ। लक्ष्मण थारु सहित ११ जनाले तीन वर्ष कैद भुक्तान गरिसकेकोले आजै रिहा भएका छन्। घटनामा आरोपित तीन जनाले भने सफाइ पाएका छन्।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको  घटनामा प्रहरीले ५८ जना शंकास्पद रहेको भन्दै कर्तव्य ज्यान, डाका चोरी तथा ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको थियो। 

कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद गुम्ने भएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने जानकारी दिए । पाण्डे भन्छन्, ‘अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानूनी व्यवस्था छ ।’

पुर्पक्षका लागि थुनामा रहेका चौधरीले १९ पुसमा सिंहदरबारमा पुगेर सांसद पदको सपथ लिएका थिए । फरार रहेकै अवस्थामा चुनाव लडेर चौधरी कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्