कौशलटारको आगलागी १० घण्टासम्म पनि नियन्त्रणमा नआउँदा लाखौँको क्षति

कौशलटारको आगलागी १० घण्टासम्म पनि नियन्त्रणमा नआउँदा लाखौँको क्षति

काठमाडौं – काठमाडौं उपत्यकालाई हरेक दृष्टिले सुविधासम्पन्न मानिन्छ । तर, काठमाडौंसँगै जोडिएको भक्तपुर जिल्लामा गएरातिदेखि लागेको आगो १० घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

मध्यपुरथिमी नगरपालिका वडा नम्बर ३ कौशलटारको डाँफेटोलमा स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ फर्निचर उद्योगमा गएराति सवा ११ बजेतिर लागेको आगो घण्टौं बितिसक्दा पनि नियन्त्रणमा लिन नसकिएको हो ।

आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । उद्योगसँगै राजु श्रेष्ठको चार तले पक्की घरको पछाडिपट्टी पनि आंशिक क्षति पुगेको छ ।

साथै सो उद्योग छेउमा रहेका दुर्गा श्रेष्ठको घर कम्पाउन्डमा रहेको टहरामा मंगल श्रेष्ठले सञ्चालन गरेको कुल्फी उद्योगमा समेत आगो सल्किएर क्षति भएको छ ।

मानवीय क्षति नभए पनि लाखौं मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले अनलाइनखबरसँग भने, ‘ठूलो उद्योग रहेछ, क्षति पनि धैरै भएको छ । तर यति क्षति भयो भनेर उद्योग धनीले एकीन गर्न सक्नु भएको छैन ।’

आइतबार राति सवा ११ बजे लागेको आगो सोमबार बिहान चार बजेमात्रै नियन्त्रणमा आएको छ । केमिकल र काठको भुसबाट बिहानपख पनि धुँवा आइरहेकाले दुईवटा दमकल अहिले पनि घटनास्थलमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्