कश्मीरमा ६ भारतीय फौजसहित आठजना मारिए

कश्मीरमा ६ भारतीय फौजसहित आठजना मारिए

श्रीनगर – भारत-पाकिस्तान तनाव चुलिइरहेका बेला जम्मु-कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहानसम्ममा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको छ । 

आइतवार बिहानै भएको भिडन्तमा दुईजना चरमपन्थी मारिएको जानकारी भारतीय सञ्चारमाध्यमले दिएका छन् । यहाँ तीन दिनदेखि मुठभेड चलिरहेको छ । 

यसैबीच तीन दिनअघि भएको मुठभेडमा घाइते भएका भारतीय केन्द्रीय रिजर्भ फोर्सका एक जवानले शनिबार ज्यान गुमाएका छन् । यससँगै यो मुठभेडमा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । ज्यान गुमाउनेमा सीआरपीएफका चार जवान र जम्मु-कश्मीर पुलिसका दुई जवान रहेका छन् । 

भारतीय सुरक्षाकर्मीले हन्दवाडामा क्रालगुडस्थित बाबा गुँड इलाकामा बिहीबार रातिदेखि चरमपन्थीविरुद्ध अप्रेशन थालेको थियो । त्यसपछि भिडन्त सुरु भएको हो । चरमपन्थी लुकेको भनिएको घरमा भारतीय सुरक्षाकर्मीले बम हानेपछि जीवितै रहेका एकजनाले गोली बर्साएका थिए । त्यसक्रममा १० जन जवान घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्