नेपालको पहुँच भारत-चीनका चार सामुद्रिक बन्दरगाहमा

नेपालको पहुँच भारत-चीनका चार सामुद्रिक बन्दरगाहमा

काठमाडौं – नेपालले छिमेकी भारत र चीनका चारचार सामुद्रिक बन्दरगाहमा पहुँच स्थापित गर्न प्रक्रिया अघि बढाएको छ। चीनका चार बन्दरगाह प्रयोग गर्न सरकारले गृहकार्य अघि बढाएको छ। चीनका एक सय ३५ भन्दा बढी बन्दरगाहमध्ये नेपाललाई जुनसुकै बन्दरगाह प्रयोग गर्नसक्ने आश्वासन दिएपछि नेपाली भूमिबाट नजिक पर्ने चार बन्दरगाह उपयोगमा ल्याउने तयारी भएको हो। चीनतर्फका सबै बन्दरगाह नेपाली भूमिबाट तीन हजार पाँच सय किलोमिटर टाढा छन्।

नेपालले भारतसँग दुई (हल्दिया र विशाखापट्टम्) बन्दरगाह प्रयोग गर्दै आएको छ। अब भारतका थप दुई उडिसाको ढर्मा र गुजरात मुन्द्राको अदामी बन्दरगाह प्रयोग गर्ने प्रक्रियामा सरकार जुटेको छ। सरकारले चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ बन्दरगाह प्रयोगमा ल्याउन लागेको हो। चीनसँग अन्य तीन सुख्खा बन्दरगाह प्रयोग गर्ने विषयमा ६ महिनाअघि नै सहमति भइसकेको छ। बन्दरगाह प्रयोगका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न चीन भ्रमणका क्रममा सम्झौता हुने गरी काम भइरहेको उद्योग, व्यापार तथा आपूर्ति मन्त्रालयका अधिकारीले जानकारी दिए। राष्ट्रपति भण्डारीले आगामी ६ सातापछि चीनको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ।

चीनसँगको पारवहन तथा परिवहन (ट्रान्सपोर्ट तथा ट्रान्जिट) सम्झौताअन्तर्गत नेपालले एक सय ३५ मध्ये चार बन्दरगाहको पहुँचमा विशेष सहजीकरण गरिदिन माग गरेको थियो। त्यही मागमा तीन सुख्खा बन्दरगाह लन्झाउ, ल्हासा र सिगात्से पनि समावेश छन्। 

प्रतिक्रिया दिनुहोस्