भारत – पाकिस्तान बीच बढ्दै तनाव

भारत – पाकिस्तान बीच बढ्दै तनाव

काठमाडौं – जम्मुकास्मिरको पुलवामा भएको आत्मघाती हमलामा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावले बुधबारसम्म आइपुग्दा सानोतिनो युद्धकै रुप लिएको छ।

भारतले मंगलबार बिहान पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको थियो। आक्रमणमा आतंकवादी संगठन जैस ए मोहम्मदका कयौं अखडा ध्वस्त पारेको भारतीय दाबी थियो। घटनामा तीन सयभन्दा बढी आतंकवादी मारिएको भारतले दाबी गरेको थियो। पाकिस्तानले भने हमलामा कसैको मृत्यु नभएको दाबी गरेको थियो। पाकिस्तानले भारतीय विमानले आफ्नो हवाई सीमा उल्लंघन गर्दै घुसेको र पाकिस्तानी सेनाले प्रतिवाद गरेपछि फर्किने क्रममा जंगल क्षेत्रमा बम खसालेको दाबी गरेको थियो। भारतीय वायुसेनाले पाकिस्तानको सीमा क्षेत्रमा बम बर्साएको घटनापछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शीर्ष अधिकारीहरुसँग बैठक गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले भारतीय कारबाहीको उचित जवाफ दिने बताएको थियो।

दुई मुलुकबीच सुरु भएको टकरावकै बीच बुधबार बिहान पाकिस्तानले भारतीय वायुसेवाका दुई विमान खसालेको दाबी गरेको छ। पाकिस्तानले एक भारतीय पाइलटलाई नियन्त्रणमा लिएको पनि दाबी गरेको छ। भारतले पनि एउटा मिग–२१ लडाकु विमान खसेको र एकजना पाइलट हराइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्