जो ताप्लेजुङ दुर्घटनामा संयोगले बचे !

जो ताप्लेजुङ दुर्घटनामा संयोगले बचे !

काठमाडौं – पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग तेह्रथुमको चुहानडाँडा विमानस्थल अवलोकन गर्न जाने टोलीमा उनी पनि थिए । तेह्रथुम, त्यसमाथि सत्तारुढ दल नेकपाका सांसद भएका कारण उनी टोलीमा पर्नु अस्वभाविक थिएन ।

तर, हेलिकोप्टरको क्षमताभन्दा बढी सदस्य भए । मन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे भइसकेका थिए ।

हेलिकोप्टरको क्षमता ६ जना मात्रै लान सक्ने थियो । पाइलट प्रभाकर केसी समेत सात जना भएपछि विजय सुब्बा चाहँदा चाहँदै पनि तेह्रथुम जान पाएनन् ।

तर, त्यही कारण उनी बाँचेका छन् । मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ र, सवार सबैको घटनास्थलमै निधन भएको छ ।

विमान दुर्घटनाको खबर पाउँदा सांसद सुब्बा राज्य व्यवस्था समितिमा थिए । गृहसचिव प्रेमकुमार राईले पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटना भएको खबर आएको सुनाउँदा सांसद सुब्बाले आफू जान खोजेको सुनाएका थिए ।

यो पनि पढ्नुहोसहेलिकोप्टर ल्याण्ड गर्न सकेन, डोरीको सहयोगमा ४ वटा शव निकालियो

सिंहदरबारस्थित बैठकबाट हतारहतार बाहिरिएका उनले दुर्घटनाबारे सोधेखोजी गरे । दुर्घटनामा सबैको मृत्यु भएको खबर पाएपछि उनी निःशब्द जस्तै भएका छन् ।

प्रतिक्रिया दिनुहोस्